काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचित डनल्ड ट्रम्पलाई कडा जवाफ फर्काउँदै क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडा अमेरिकामा गाभिन सक्ने अवस्था रत्तीभर पनि नभएको स्पष्ट पार्नुभएको छ ।
मंगलबार ट्रम्पले क्यानेडियन वस्तुमाथि २५ प्रतिशत कर लिने धम्की दिँदै आर्थिक तागतका बलमा क्यानडालाई हासिल गर्ने अभिव्यक्ति दिनुभएको थियो । हालै मात्रै ट्रम्पले क्यानडालाई अमेरिकाको ५१औं राज्य बन्न भन्दै बारम्बार आग्रह गर्नुभएको थियो । ट्रम्पले कृत्रिम रूपमा खिचिएको रेखाबाट छुटकरा लिन क्यानडालाई आग्रह गर्नुभएको थियो । अमेरिकामा गाभिए राष्ट्रिय सुरक्षाका लागि पनि हितकारी हुने ट्रम्पको दाबी थियो ।
ट्रम्पको यस्तो धम्कीपछि ट्रुडो थप तनावमा पर्नुभएको छ । आफूले राजीनामा घोषणा गरेका बेला ट्रम्पले कर बढाउने धम्की दिएपछि उहाँलाई त्यसबारे जवाफ दिन समेत मुस्किल परेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अर्थशास्त्रीहरूले समेत ट्रम्पले कर लगाउने निर्णय अघि बढाए क्यानडाको अर्थ व्यवस्थामा कयौं नोक्सान हुने बताएका छन् । क्यानडा सरकारको आँकडा अनुसार २०२३ मा मात्रै दैनिक करिब ३.६ अर्ब क्यानेडियन डलरको वस्तु तथा सेवाले सीमा पार गरेको थियो ।