ट्रम्पलाई राष्ट्रपति पदको शपथ लिने बाटो खुल्यो

पुस २३, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
ट्रम्पलाई राष्ट्रपति पदको शपथ लिने बाटो खुल्यो

काठमाडौं । अमेरिकी संसद्का दुवै सदनको संयुक्त बैठक कंग्रेसले गत नोभेम्बरमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीका नेता डनल्ड ट्रम्प विजयी भएको औपचारिक रुपमा प्रमाणित गरेको छ ।

यससँगै ट्रम्पलाई यही जनवरी २० मा राष्ट्रपति पदको शपथ लिने मार्ग प्रशस्त भएको छ । सोमबार बसेको कंग्रेसको बैठकले देशका ५० राज्य र राजधानी जिल्ला "डिस्ट्रिक्ट अफ कोलम्बिया"को निर्वाचन परिणाम प्रमाणीकरण गरेको हो ।

बैठकको अध्यक्षता माथिल्लो सदन सिनेटको अध्यक्षका हैसियतले उपराष्ट्रपति कमला ह्यारिसले गर्नुभएको थियो । प्रक्रिया सकिएपछि उहाँले नै ट्रम्प विजयी भएको घोषणा गर्नुभएको हो । कमला राष्ट्रपतीय निर्वाचनमा ट्रम्पसँगै पराजित हुनुभएको थियो ।

बैठक एक घण्टाभन्दा पनि कम समयमै टुंगिएको थियो भने प्रत्येक राज्यको निर्वाचन परिणाम घोषणा गरिँदा कसैले पनि परिणामप्रति आपत्ति जनाएका थिएनन् । नोभेम्बरमा भएको निर्वाचनमा ट्रम्पले ३ सय १२ इलेक्टोरल मत जित्नु भएको थियो भने ह्यारिसले २ सय २६ इलेक्टोरल मत पाउनु भएको थियो ।

प्रमाणीकरणपछि संक्षिप्त प्रतिक्रिया दिँदै ह्यारिसले आफूले संविधानले तोकेको कर्तव्य निर्वाह गरेको र अमेरिकी लोकतन्त्र बलियो बनेको बताउनुभएको थियो । प्रत्येक चार-चार वर्षमा हुने यो परम्परागत प्रक्रिया ४ वर्षअघिको अवस्था भन्दा बिल्कुलै भिन्न र शान्त थियो । चार वर्षअघि ट्रम्पमाथि जो बाइडनको विजय प्रमाणित गर्ने प्रयोजनका लागि कंग्रेसको बैठक बस्दै गर्दा ट्रम्प समर्थक भिडले संसद् भवन क्यापिटल बिल्डिंगमा आक्रमण र तोडफोड गरेको थियो । सन् २०२१ को जनवरी ६ मा क्यापिटल बिल्डिंगमा ट्रम्पका समर्थकले गरेको उक्त आक्रमणमा कम्तिमा ४ जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए ।

व्यापक धाँधलीका कारण आफूले २०२० को चुनाव हारेको झुट्ठा दाबी गर्दै आउनुभएका ट्रम्पले २०२४ को प्रचारका क्रममा पनि आफ्नो उक्त दाबीलाई दोहोर्याउँदै आउनुभएको थियो ।



Enter Kantipur TV HD
Advertisement