हिउँदे आँधीका कारण अमेरिकाका ३० राज्यको जनजीवन प्रभावित

पुस २२, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
हिउँदे आँधीका कारण अमेरिकाका ३० राज्यको जनजीवन प्रभावित

काठमाडौं । भिषण हिउँदे आँधी 'ब्लेयर' का कारण अमेरिकाका ३० राज्यको जनजीवन प्रभावित भएको छ । छ करोडभन्दा बढी जनसंख्याका लागि गम्भीर मौसमी चेतावनी जारी गरिएको बीबीसीले जनाएको छ ।

हिमआँधीका कारण भिषण हिमपात हुनुका साथै एक दशकयताकै चरम ठण्डी हुने अनुमान गरिएको छ । हिमआँधीका कारण ३० राज्य प्रभावित भएकामा सात राज्यहरु क्यानसस, आर्कान्सा, मिजोरी, केन्टकी, भर्जिनिया, वेष्ट भर्जिनिया र न्यू जर्सीका केही क्षेत्रमा आपतकालीन अवस्थाको घोषणा गरिसकिएको छ ।

थुप्रै राज्यमा हिमपात, चिसो हावा र आँधीबेहरी चलेको समाचारमा जनाइएको छ । हजारौं उडान रद्द वा डिले गरिएको छ भने विद्यालयहरु बन्द गरिएका छन् । यस्तै बाक्लो हिउँका कारण सडक मार्गसमेत अवरुद्ध भएको जनाइएको छ ।

क्यानसस शहरमा ३२ वर्षयताकै सबैभन्दा बढी अर्थात एक फूटभन्दा बढी हिउँ परेको छ । क्यानसस र मिजोरीको अवस्था गम्भीर रहेको मौसमविद्ले जनाएका छन् । हिमआँधी ब्लेयर बिस्तारै पूर्वतर्फ अघि बढिरहेको छ । आगामी थुप्रै दिन निरन्तर चिसो बढ्ने र तापक्रम माइनस १० देखि माइनस १५ डिग्री सेल्सियससम्म पुग्ने प्रक्षेपण गरिएको छ । उत्तरी र दक्षिणी ध्रुवीय क्षेत्रमा उत्पन्न चिसो वायूको बहाव पोलर भर्टेक्सकाका कारण हिमआँधी ब्लेयरको सिर्जना भएको जनाइएको छ ।



Enter Kantipur TV HD
Advertisement