काठमाडौं । युद्धविराम पहलबीच इजरायलले गाजामा आक्रमणलाई थप तीव्र बनाएको छ । गाजाको आवासीय क्षेत्रमा जारी हवाई आक्रमणमा हिजो मात्रै ८८ जनाको मृत्यु भएको छ भने पछिल्लो तीन दिनमा कम्तीमा २ सय जना मारिएका छन् ।
हमास अधिकारीहरूका अनुसार आईडीएफले तीन दिनमा गाजास्थित आवासीय क्षेत्रमा कम्तीमा सयवटा हवाई आक्रमण तथा गोलाबारी गरेको हो । इजरायलले निहत्था नागरिक र आवासीय क्षेत्रमा 'खतरनाक र क्रूर’ आक्रमण गरेको हमास अधिकारीको भनाइ छ । ज्यान गुमाउनेमा अधिकांश महिला तथा बालबालिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्यालेस्टानी समूह हमासले सन् २०२३, अक्टुबर ७ मा उत्तरी इजरायलमा आक्रमण गरेयता जारी युद्धमा ४५ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ । ज्यान गुमाउनेमा एक तिहाइभन्दा बढी बालबालिका छन् । अक्टुबर ७ यता मारिने बालबालिकाको संख्या १८ हजार नाघिसकेको प्यालेस्टिनी अधिकारीको भनाइ छ ।
दुई पक्षबीच केही सातायता अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा युद्धविराम सम्झौताका लागि पहल भइरहेको छ । कतारको दोहा तथा इजिप्टको कायोरोमा भएका वार्ता सहमतिमा पुग्नै लागेको बताइएको छ ।
गाजामा युद्धविराम र बन्धक रिहाइका लागि गत शुक्रबारदेखि वार्ता पुन: सुरू भइसकेको छ । वार्ताका लागि इजरायली टोली शुक्रबार नै कतार पुगेको थियो ।
हमासले पनि शुक्रबारदेखि युद्धविराम वार्ता सुरू भएको र सम्झौतामा पुग्न गम्भीर रहेको जनाएको छ । पछिल्लो चरणको वार्ता पूर्ण युद्धविराम, गाजापट्टीमा रहेका सेनाको फिर्ती र कार्यान्वयनको विवरण र विस्थापितलाई घर फर्काउने विषयमा केन्द्रित हुने हमासले जनाएको छ । इजरालयका पछिल्ला आक्रमणसँगै वार्ताको वातवरण भने बिथोलिने चिन्ता थपिएको छ ।