इलोन मस्कको सम्पत्ति एक वर्षमै दोब्बर, पाँच सय धनाढ्यको सूचीमा अधिकांश अमेरिकी

पुस १८, २०८१ |प्रभात सिंह
इलोन मस्कको सम्पत्ति एक वर्षमै दोब्बर, पाँच सय धनाढ्यको सूचीमा अधिकांश अमेरिकी

काठमाडौं । प्रविधिको तीव्र विकास भइरहेको विश्वमा सबैभन्दा धनी को होलान् भन्ने चासो सबैलाई लाग्न सक्छ । अमेरिकी सञ्चारसंस्था ब्लूमबर्गले सार्वजनिक गरेको विश्वका पाँच सय धनाढ्यको सूचीमा सबैभन्दा अगाडि हुनुहुन्छ– स्पेस एक्स, स्टारलिंक र एक्सका मालिक इलोन मस्क ।

मस्कको कुल सम्पत्ति ४३२ अर्ब अमेरिकी डलर पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा २०३ अर्ब डलरले बढेर झन्डै दोब्बर भएको हो ।

दोस्रो स्थानमा अमेरिकी प्रविधि कम्पनी अमेजनका मालिक जेफ बेजोस हुनुहुन्छ । उहाँसँग २३९ अर्ब अमेरिकी डलर छ । बेजोसको सम्पत्ति पनि अघिल्लो वर्षको तुलनामा ६१ अर्ब आठ करोडले बढेको हो । तेस्रो स्थानमा फेसबुक, ह्वाट्सएप, इन्स्टाग्रामको मातृकम्पनी मेटाका संस्थापक मार्क जुकरबर्ग पर्नुभएको छ । जुकरबर्गसँग २०७ अर्ब अमेरिकी डलर सम्पत्ति छ, जुन अघिल्लो वर्षको तुलनामा ७९ अर्ब दुई करोडले बढेको हो ।

सूचीको चौथौ स्थानमा अमेरिकी सफ्टवेयर कम्पनी ओरेकलका मालिक ल्यारी इलिसन पर्नुभएको छ । उहाँको कुल सम्पत्ति १९२ अर्ब डलर छ । यस्तै ब्लूमबर्गले पाँचौं स्थानमा विश्व प्रख्यात फेशन ब्रान्ड कम्पनी लुइ भीटनका मालिक बनार्ड अर्नोल्टलाई राखेको छ । अर्नोल्टसँग १७६ अर्ब डलर बराबरको सम्पत्ति छ । संसारका सबैभन्दा धनी चार जना अमेरिकी नागरिक पर्दा पाँचौं स्थानमा रहेका अर्नोल्ट भने फ्रान्सेली हुनुहुन्छ । तर, उहाँको सम्पत्ति भने अघिल्लो वर्षको तुलनामा यस वर्ष ३१ अर्ब दुई करोड डलरले घटेको छ ।

विश्वकै शीर्ष धनाढ्य रहिसकेका माइक्रोसफ्टका मालिक बिल गेट्स सातौं स्थानमा र वारेन बफेट १०औं नम्बरमा पुग्नुभएको छ । ब्लूमबर्गको धनाढ्य सूचीमा नेपाली नरहे पनि भारतका भने परेका छन् । मुकेश अम्बानी ९० अर्ब ६ करोड सहित १७औं, गौतम अडानी ७८ अर्ब सात करोड सहित १९औं र शिव नाडर ४३ अर्ब एक करोड सहित ३६औं स्थानमा हुनुहुन्छ ।

चीनका झोङ शानशान ५५ अर्ब डलरको सम्पत्ति सहित २५‍औं स्थानमा हुनुहुन्छ । शीर्षदेखि पुछारसम्म अमेरिकी धनाढ्यको बाहुल्य रहेको पाँच सय धनी मानिसको यो सूचीको अन्तिममा पनि अमेरिकी नै हुनुहुन्छ । सूचीको अन्तिममा अमेरिकाका जोन ओभरडेक रहेको र उहाँको सम्पत्ति ६ अर्ब १८ करोड डलर रहेको ब्लूमबर्गले उल्लेख गरेको छ ।

यी पाँच सय धनाढ्यको कुल सम्पत्ति जोड्दा १० खर्ब डलर पुगेको र धनीहरू झन् धनी हुँदै गएको ब्लूमबर्गले जनाएको छ । पाँच सय धनाढ्यको सम्पत्ति विश्वकै कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब १० प्रतिशत हुन आउँछ । यो सम्पत्ति संसारकै ठूलामध्येको अर्थतन्त्र भएका जापान र जर्मनी जस्ता देशको जीडीपीको दोब्बर हुन आउँछ ।


Image

प्रभात सिंह

सिंह कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement