हिन्द महासागरको मेयोट टापुमा शक्तिशाली आँधी, सयौं मानिसको मृत्यु

९० वर्षयताकै सबैभन्दा शक्तिशाली समुद्री आँधी भएको दाबी
पुस १, २०८१ |कान्तिपुर टीभी संवाददाता
हिन्द महासागरको मेयोट टापुमा शक्तिशाली आँधी, सयौं मानिसको मृत्यु

काठमाडौं । हिन्द महासागरमा अवस्थित फ्रान्सेली टापु मैयोटमा आएको शक्तिशाली चक्रवात 'चिडो'का कारण सयौं मानिसको मृत्यु भएको आशंका गरिएको छ ।

टापुका प्रमुख फ्रास्वाँ जेभियर बिउभिलेले मृतकको संख्या एक हजार वा त्यसभन्दा पनि बढी हुन सक्ने बताउनु भएको छ । २ सय किलोमिटर प्रतिघण्टाभन्दा बढी वेगको हावाका साथ आएको चक्रवात शनिवार राति उक्त टापुमा ठोक्किएको बताइएको छ । मैयोट टापुमा ठोक्किने यो ९० वर्ष यताकै सबैभन्दा शक्तिशाली समुद्री आँधी हो ।

मैयोट फ्रान्सको अधिनमा रहेको सबैभन्दा गरिब क्षेत्र हो । यहाँका करिब तीन लाख जनता गरिब बस्तीमा बस्ने गरेको बीबीसीले उल्लेख गरेको छ । फ्रेन्च रेडक्रसका एक जना सदस्यले यहाँ रहेका प्राय: सबैजसो झुपडबस्ती पूर्णत: ध्वस्त भएको बताएका छन् । मैयोटको राजधानी मामोड्जुस्थित क्यारिबो होटेलका मालिक ब्रुनो गार्सियाले एटम बम खसेजस्तो विनाशकारी स्थिति रहेको बताएको सीएनएनले उल्लेख गरेको छ ।

मैयोट मेडागास्करको दक्षिणपटि्ट हिन्द महासागरमा स्थित टापु हो । दुई मुख्य टापु रहेको मैयोटको भौगोलिक आकार वासिङटन डीसीको दोब्बर जति रहेको सीएनएनले उल्लेख गरेको छ । मैयोटमा विनाश मच्चाउनु अघि क्याटगोरी फोरको चक्रवात चिडोले उत्तर मेडागास्करमा विध्वंस मच्चाएको थियो । मैयोटबाट अघि बढेर यो उत्तरी मोजाम्बिकको तटमा ठोक्किएको जनाइएको छ ।

यद्यपि अहिले भने उक्त आँधीको वेग निकै कम भएको बताइएको छ । पूर्ण रुपमा फ्रान्सको आर्थिक सहायतामा निर्भर रहेको उक्त टापुले लामो समयदेखि गरिबी, बेरोजगारी र राजनीतिक अस्थिरताको सामना गर्दै आइरहेको छ । उद्धार र सहायताका लागि फ्रान्सबाट टोलीहरु खटाइएको जनाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement