काठमाडौं । इजरायली हवाई सेनाले सिरियाका सैन्य अखाडाहरु लक्षित कम्तीमा ६१ वटा क्षेप्यास्त्र प्रहार गरेको अल जजिराले जनाएको छ ।
एक साता अवधिमा मात्रै इजरायलले सिरियाका विभिन्न क्षेत्रमा गरी करिब ८ सय वटा क्षेप्यास्त्र प्रहार गरेको समाचारमा जनाइएको छ । यसैगरी इजरायली स्थल सेनाले राजधानी दमास्कस नजिकै पर्ने दक्षिणी सिरियाको कुनेइट्रा प्रान्त कब्जामा लिने कार्यलाई निरन्तरता दिएको समाचारमा जनाएको छ । त्यस क्रममा इजरायली सेनाले दक्षिणपूर्वी कुनेइट्रामा सडक, विद्युत् लाइन र खानेपानी आपूर्तिका सञ्जालहरु ध्वस्त पारेको अल जजिराले जनाएको छ ।
सिरियाका विद्रोही नेता अहमद अल शाराले इजरायलले जारी राखेको आक्रमण र भूमि कब्जाको भर्त्सना गर्नुभएको छ । साथै उहाँले नयाँ द्वन्द्वका लागि देश थकित भैसकेको टिप्पणी पनि गर्नु भएको छ ।
इजरायली सेनाका अधिकारीहरुले इजरायली कब्जामा रहेको सिरियाको गोलान हाइट्समा त्यहाँका प्रभावशाली व्यक्ति र नगरप्रमुखसँग बैठकहरु गरेको र उनीहरुलाई सिरियाली सेनाले खाली गरेका अखाडाहरुबाट कब्जा गरिएका हतियारहरु संकलन गर्न भनेको समाचारमा जनाइएको छ ।
सिरियामा एक साताको अवधिमा बेवारीसे बम र भूमिगत बारुदी सुरुङ विस्फोट भएर मृत्यु हुनेको संख्या २४ पुगेको मानवअधिकारवादी संस्था सिरियन 'अब्जरभेटरी फर ह्युमन राइट्स'ले जनाएको छ । यसैबीच सिरियाको अन्तरिम सरकारका यातायात मन्त्रीले चाँडै नै देशको अन्तरराष्ट्रिय हवाई यातायात खुला गर्ने बताउनुभएको छ ।
राष्ट्रपति बसर अल असदको सत्तापतन भएयता पहिलो पटक देशका अधिकांश विद्यालयहरु आजदेखि सञ्चालनमा आएको जनाइएको छ ।