सूर्यदर्शन सहकारी ठगी प्रकरण : के छ प्रहरीले बुझाएको प्रतिवेदनमा ?

पुस १, २०८१ |रमेश धमला
सूर्यदर्शन सहकारी ठगी प्रकरण : के छ प्रहरीले बुझाएको प्रतिवेदनमा ?

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको रकम अपलचनमाथि प्रहरीले गरेको दोस्रो चरणको अनुसन्धान सकिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले झन्डै तीन महिना लगाएर गरेको अनुसन्धानपछि रायसहितको प्रतिवेदन जिल्ला सरकरी वकिल कार्यालयलाई बुझाएको हो ।

सहकारीको १ अर्ब २४ करोड हिनामिना भएको प्रतिवेदन बुझाएको प्रहरीले रास्वपाका सभापति रवि लामिछानेमाथि झन्डै २८ करोडको सम्पत्ति शुद्धीकरणको मुद्दा सिफारिस गरेको छ ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा असोज ६ गते पूर्वडीआईजी छविलाल जोशीलाई पक्राउ गरेर दोस्रो चरणको अनुसन्धान गरेको कास्की प्रहरीले ३२ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिएको छ । यो प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए ।

सहकारीको रकम अपचलनमा प्रत्यक्ष संलग्न रहेका ३२ जनलाई पक्राउ गरेर अभियोजन लगाउनुपर्ने निष्कर्ष निकालेको प्रहरीले अन्य १९ जनाबाट भने सम्पत्ति जफत गर्नुपर्ने अनुसन्धान प्रतिवेदन बुझाएको जिल्ला सरकारी वकिल कार्यालय कास्की स्रोतले जनाएको छ । 

दुई महिना लामो अनुसन्धानमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहित ८ जना हिरासतमा छन् । पूर्वडीआईजी जोशी, लिला पछाइ, रामबहादुर खनाल, देवकुमार नेपाली, ओमप्रकाश गुरुङ, लिलाबहादुर गुरुङ र कृष्णबहादुर गुरुङ प्रहरी हिरासतमा छन् ।

सहकारीको रकम १ अर्ब २४ करोड ५६ लाख हिनामिना भएको प्रहरीको निष्कर्ष छ । त्यही पैसाले ३२ वटा कम्पनीमा लगानी गरेको देखिएको छ । सहकारीको रकममा लामिछानेमाथि ३ करोड ३७ लाख बिगो माग गर्नुपर्ने राय प्रहरीको छ । 

लामिछानेले सहकारीकै रकमबाट अन्य स्थानमा कारोबार गरेको २७ करोड ९९ लाख सम्पत्ति शुद्धीकण गरेको राय प्रहरीले दिएको सरकारी वकिल स्रोतको दाबी छ । लामिछानेमाथि सहकारी ठगी, संगठित अपराधको कसुरमा मुद्धाका लागि प्रहरीले प्रतिवेदन दिएको हो । 

त्यस्तै लामिछाने र उनकी श्रीमती निकिता पौडेलको नाममा १८ वटा बैंक खाता रहेको र २०६९ भदौ २४ देखि २०८१ मंसिर १० गतेसम्म २८ करोड कारोबार भएको देखिएको छ । 

२०७८ साल कात्तिक २३ गतेदेखि २०८१ साउन १४ गतेसम्म लामिछानेले १ करोड २७ लाख रुपैयाँ अमेरिकास्थित लाओ एसिया प्यासेफिक स्याटलाइट कम्पनीमा बुझाएको देखिएको छ । रविकै श्रीमती निकिताको सम्पत्ति पनि जफत गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै सहरकारी ठगीका मुख्य आरोपी जीबी राईविरुद्ध सम्पत्ति शुद्धीकरणमा मात्रै १ अर्ब ८६ करोडको बिगो माग दाबीका लागि प्रहरीले राय दिएको छ । जीवीलाई राष्ट्रबैंकसम्बन्धी कसुर र संगठित अपराधमा पनि मुद्धाका लागि प्रहरीले सिफारिस गरेको छ । पूर्वडीआईजी जोशीको ७४ करोड सम्पत्ति शुद्धीकरणमा जाने देखिएको छ ।

छविलालकी श्रीमती र छोराको नाममा रहेको सम्पत्ति जफतका लागि राय दिइएको छ । सूर्यदर्शन सहकारीको अनुसन्धान सकिएपछि अब यो मुद्दा यसै साता अदालतमा प्रवेश गर्ने छ । जिल्ला सरकारी वकील कार्यालयले प्रहरीको रायअनुसार नै मुद्दा दायर गर्छ वा त्यसमा संशोधन गर्छ भन्ने हेर्न बाँकी छ । योसँगै चितवन, पर्सा, काठमाडौं, बुटवलको अनुसन्धान जारी नै छ । यी जिल्लामा पनि प्रहरीले अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement