काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सिरियाली विद्रोही समूह हयात तहरीर अल-शाम (एचटीसी)सँग अमेरिकाको सीधा सम्पर्क रहेको बताउनु भएको छ । मध्यपूर्वको भ्रमणमा रहनु भएका ब्लिन्केनले जोर्डनको दक्षिणी शहर अकाबामा सिरियामा अरब सम्पर्क समूहका विदेश मन्त्रीहरूसँगको बैठकपछि पत्रकारहरूलाई उक्त कुरा बताएको रोयटर्सले जनाएको छ ।
बसर-अल-असदको २४ वर्षे शासन सत्ताको अन्त्य गर्ने हयात तहरीर अल-शामसँग अमेरिकाले प्रत्यक्ष सम्पर्कमा रहेको पहिलो पटक स्वीकार गरेको हो । विद्रोही समूह एचटीसीलाई अझै पनि अमेरिकाले आतंकवादी संगठनको सूचीमा राखेको छ ।
ब्लिन्केन सहित अरब देश, टर्की र युरोपका विदेशमन्त्री र प्रतिनिधिहरूले सिरियामा शान्तिपूर्ण संक्रमणकाललाई सघाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । जोर्डनका विदेशमन्त्री अयमान सफादीले क्षेत्रीय शक्तिहरूले सिरिया अराजकतामा फसेको हेर्न नचाहेको बताउनु भयो ।
इराकी विदेशमन्त्री फुआद हुसेनले लिबियाबाट कर्नल गद्दाफीलाई सत्ताबाट हटाएपछि उत्पन्न अराजकतातर्फ संकेत गर्दै सिरियाको भविष्यप्रति चिन्ता व्यक्त गर्नु भयो । टर्कीका विदेशमन्त्री हकान फिदानले सिरियाका विद्यमान संस्थाहरूलाई संरक्षण र सुधार गर्नुपर्नेमा जोड दिनु भयो । फिदानले आतंकवादलाई संक्रमणकालको फाइदा उठाउने अनुमति दिन नहुने र विगतका गल्तीबाट पाठ सिक्दै सबैले समन्वय गर्नु पर्नेमा जोड दिएको रोयटर्सले जनाएको छ ।
जोर्डनमा भएको वार्तामा सिरियाका प्रतिनिधि भने सहभागी थिएनन् । बैठकमा सहभागी आठ देशका विदेशमन्त्रीहरूले सिरियालाई एकताबद्ध र साम्प्रदायिक आधारमा विभाजित नगर्ने विषय सुनिश्चित गर्न चाहेको बताएका छन् । बैठकले संयुक्त विज्ञप्ति जारी गर्दै सिरियामा समावेशी सरकारका गठनका लागि आह्वान समेत गरेको छ ।