इजरायलको अधिनमा रहेको सिरियाको गोलान हाइट्समा जनसंख्या दोब्बर गर्ने प्रधानमन्त्री नेतन्याहूको योजना

पुस १, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
इजरायलको अधिनमा रहेको सिरियाको गोलान हाइट्समा जनसंख्या दोब्बर गर्ने प्रधानमन्त्री नेतन्याहूको योजना

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायलले कब्जा गरेको सिरियाको गोलान हाइट्स क्षेत्रका लागि नयाँ योजना घोषणा गर्नु भएको छ । उहाँले यो नयाँ योजना अन्तर्गत गोलान हाइट्समा इजरायली नागरिकको जनसंख्या दोब्बर हुने बताउनु भएको छ ।

उक्त योजनालाई इजरायली मन्त्रिपरिषद्ले समेत स्वीकृति दिइसकेको टाइम्स अफ इजरायलले जनाएको छ । टाइम्स अफ इजरायलका अनुसार उक्त क्षेत्रमा हाल ५० हजार इजरायली र ड्रुज नागरिक बसोवास गर्दै आएका छन् । नेतन्याहूका अनुसार उक्त संख्या अब दोब्बर हुनेछ । गोलान हाइट्स क्षेत्रमा ३० भन्दा बढी इजरायली बस्तीहरू रहेको बताइएको छ ।

उक्त योजना अन्तर्गत गोलान हाइड्समा इजरायलले एक करोड १० लाख अमेरिकी डलर लगानी गर्नेछ । जसमा शिक्षा, नवीकरणीय ऊर्जा, शहरको विकासमा खर्च गरिने बताइएको छ । गोलान हाइट्स सिरियाको दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित छ । इजरायलले यस क्षेत्रमा आफ्नो प्रभाव बढाउने र बसोवास गरेर समृद्ध बनाउने नेतान्याहूले स्पष्ट पार्नु भएको छ ।

इजरायलले सन् १९६७ मा सिरियास्थित गोलान हाइट्सलाई आंशिक रूपमा कब्जा गरेको थियो भने सन् १९८१ मा गोलान हाइट्स इजरायलले पूर्णतः कब्जा गरेको थियो । जसलाई अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको छैन । नेतान्याहूका अनुसार उहाँले सिरियाको अवस्थालाई ध्यानमा राखेर उक्त निर्णय गरेको हो ।

हालै सिरियामा पूर्व राष्ट्रपति बसर अल असदको पतनपछि इजरायली सेनाले विद्रोही समूहलाई पुनः स्थापित हुन नदिन भन्दै निरन्तर आक्रमण थालेको छ ।

यसैबीच नेतन्याहूले अमेरिकी नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पसँग सिरिया र गाजा युद्धबारे छलफल गरेको बताउनु भएको छ । यसका साथै गाजामा बन्धक बनाइएका इजरायली नागरिकहरूलाई फिर्ता ल्याउने विषयमा जोड दिन समेत ट्रम्पलाई नेतन्याहूले जोड दिनु भएको जनाउनु भएको छ ।

सिरियामा निरन्तर आक्रमण गरिरहेको बारे आफूहरूलाई सिरियासँग युद्ध गर्ने कुनै योजना नरहेको ट्रम्पलाई नेतन्याहूले स्पष्ट पार्नु भएको छ । आवश्यक खतरालाई मध्यनजर गर्दै इजरायलले सिरिया लक्ष्यित आक्रमण गरेको नेतन्याहूको भनाइ छ ।



Enter Kantipur TV HD
Advertisement