काठमाडौं । सिरियामा सन् २०११ मा सरकारविरुद्ध सुरु भएको विद्रोहले गृहयुद्धको रुप लिँदा पनि बसर अल असादले सत्ता छाडेका थिएनन् । बरु रुस र इरानको सहयोगमा विद्रोही पक्षलाई पछि हट्न बाध्य पारिररहे ।
सन् २०२४ सम्मै सिरियामा उनको वर्चस्व रहिरह्यो । गृहयुद्धमा ६ लाख २० हजार मानिसको ज्यान गयो । तर, दुई सातामै विद्रोही सेनाले २५ वर्षदेखि शासन गर्दै आएका असादलाई देश छाड्न बाध्य बनायो । १ लाख ३० हजारको संख्यामा रहेको सरकारी सेनाले विद्रोही सेनासँग लड्न किन चाहेन ?
सिरियाको विद्रोही सेना हयात तहरिर अल साम्स–एचटीएसले इडलिब, हामा, होम्सजस्ता रणनीतिक महत्वका सहर कब्जा गर्दै राजधानी दमास्कस प्रवेश गर्दा पनि सरकारी सेनाले कुनै प्रतिकार गरेन । १ लाख ३० हजारको संख्यामा रहेको सेनाले विद्रोही सेनासँग लड्नभन्दा पछि हट्न नै उचित ठान्यो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँगको सम्पर्कमा आएका सरकारी सैनिक भन्छन्–यसको मुख्य कारण सेनाको न्यून तलब, कमजोर सैन्य सामग्री र सरकारले गर्ने हतोत्साहीपूर्ण व्यवहार । सेनाबाट भागेका फरहान अल खाउली नामका २३ वर्षीय युवकको पनि यस्तै अनुभव छ ।
असन्तुष्ट सरकारी सैनिकहरु सबै मोर्चाबाट फिर्ता हुन थालेपछि अन्तिम समयतिर असादले तबलमा ५० प्रतिशत वृद्धि गर्ने घोषणा गरेका थिए । तर, त्यसले कुनै काम गरेन । पूर्वसैनिक खाउली अनुसार उनलाई विद्रोही सेनाको नियन्त्रणमा रहेको इडलिवमा खटाइएको थियो ।
विद्रोही सेनाको नियन्त्रणमा रहेको इडलिब खटाइएका उनीसँगै १० सैनिक फ्रन्टलाइनमा तैनाथ थिए । त्यसमध्ये कतिपय भागे । अन्तिमा बाँकी रहे उनीसहित ३ जना । तीमध्ये एकलाई मानसिक रुपमा ठीक नरहेको भन्दै युनिटका कमाण्डरले निस्कासन गरिदिए । त्यही बेला अघि बढेका विद्रोही सेनाले २७ नोभेम्बरमा इडलिब आक्रमणको योजना बनाए ।
त्यसको पूर्वजानकारी खाउलीलाई सैन्य कमाण्डरले नै दिए । उनलाई अरु सैनिक नभए पनि विद्रोहीसँग लड्न निर्देशन दिइएको थियो । तर, उनी युद्धमोर्चाबाट भागे । नागरिक जीवनमा फर्किसकेपछि उनले घोडाको तबेलामा जागिर खाए । तर जब असद शासन ढलेको खबर पाए, सडकमा आएर उनी पनि अरु नागरिक झैं खुसीमा सामेल पाए ।
विगतदेखि नै सरकार र सेनासमेत इरान र इरानसमर्थित हिजबुल्लाह सेनाको कमाण्डमा चल्दै आएको थियो । तर, इजरायलसँगको द्वन्द्व चर्कदै गएपछि इरान र हिजबुल्लाहले आफ्नो सैन्य बललाई सिरियाबाट फिर्ता बोलाए ।
जसका कारण सिरिया नेतृत्वविहीनजस्तै अवस्थामा पुग्यो । त्यसको फाइदा विद्राही सेनाले उठायो । अहिले बसर अल असादले रुसमा शरण लिइरहेका छन् भने सिरियामा विद्रोही सेनाका तर्फबाट मोहम्मद अल–बसिरले सरकारको अन्तरिम नेतृत्व लिएका छन् ।