अमेरिकामा टिकटक प्रतिबन्ध लगाउने बाटो खुला

मंसिर २२, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिकामा टिकटक प्रतिबन्ध लगाउने बाटो खुला

काठमाडौं । अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने वा यसलाई अमेरिकी कम्पनीलाई बेच्नु पर्ने भन्दै पारित गरेको कानुनविरुद्ध टिकटकले दायर गरेको अपीललाई अमेरिकाको संघीय अदालतले खारेज गरिदिएको छ ।

अदालतले अपील खारेज गरेपछि टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने बाटो खुलेको छ । सन् २०२३ मा अमेरिकाले टिकटकविरुद्ध कानुन पारित गर्दै सरकारी उपकरणमा प्रतिबन्ध लगाएको थियो ।

सोही प्रतिबन्ध फुकुवा गर्न टिकटकले संघीय अदालतमा अपील दायर गरेको थियो । तर, अदालतले सन् २०२५ को सुरुवातबाट लागू हुनेगरी टिकटकविरुद्ध पारित गरिएको कानुनलाई समर्थन गर्दै उक्त अपील खारेज गरेको हो । टिकटकमा प्रतिबन्ध लगाउनुले लाखौं अमेरिकी नागरिकको अभिव्यक्ति स्वतन्त्रताको अधिकार हनन हुने भन्दै संघीय अदालतमार्फत् प्रतिबन्ध फुकुवा हुने आशा कम्पनीले रोखेको थियो। अदालतले उक्त कानूनलाई असंवैधानिक घोषणा गर्ने समेत कम्पनीको अपेक्षा थियो । तर अदालतले अमेरिकी कानुनलाई समर्थन गरेको छ ।

अपील खारेजपछि टिकटकले कानूनी लडाइँ अझै नसकिएको र संघीय अदालतको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने स्पष्ट पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

टिकटकका मालिक चिनियाँ सरकारसँग जोडिएको हुनाले अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउनुपर्ने वा बेच्नु पर्ने भन्दै कानुन पारित गरेको थियो । अमेरिकाको उक्त आरोपलाई भने टिकटकको मूल कम्पनी बाइट डान्सले अस्वीकार गर्दै आएको छ।

अमेरिकासँगै बेलायत र ताइवानमा टिकटकलाई सरकारी उपकरणहरुमा प्रतिबन्ध लगाइएको छ भने भारतमा टिकटक पूर्ण रुपमा प्रतिबन्धित छ।



Enter Kantipur TV HD
Advertisement