सिरियाको होम्स शहरको बाहिर क्षेत्र पुगे विद्रोही समूह

मंसिर २२, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
सिरियाको होम्स शहरको बाहिर क्षेत्र पुगे विद्रोही समूह

काठमाडौं । सिरियाको विद्रोही समूह तेस्रो ठूलो शहर होम्सको बाहिरी क्षेत्र पुगेको छ । राजधानी दमास्कस पुग्ने लक्ष्य राखेका विद्राही होम्सको बाहिरी क्षेत्र पुगिसकेको बेलायतस्थित सिरिया अब्जर्भेटरी ह्यूमन राइट्स– एसओएचआरले जनाएको छ ।

होम्स एलेप्पोबाट राजधानी दमास्कस जाने राजमार्गमा पर्ने शहर हो । होम्स पूर्णरूपमा विद्रोहीको कब्जामा जाने देखिएपछि शहरबाट दशौं हजार नागरिक पलायन भएको बीबीसीले जनाएको छ । यसअघि विद्रोहीले एलेप्पो र हामालाई कब्जामा लिइसकेका छन् ।

विद्रोही समूहले महत्त्वपूर्ण शहरहरू आफ्नो नियन्त्रणमा लिएसँगै दमास्कसस्थित रूसी दूतावासले आफ्ना नागरिकलाई तत्काल सिरिया छाड्न अपिल गरेको छ । इस्लामिक लडाकु समूह हयात तहरीर अल शाम एचटीएसले राष्ट्रपति बसार अल असदलाई सत्ताच्यूत गर्नू आफ्नो मुख्य उद्देश्य रहेको स्पष्ट पारेको छ ।

द्वन्द्व बढ्दै गएपछि जोर्डनले सिरियासँगको सीमा बन्द गरेको छ। यस्तै इजरायलले सिरियास्थित आफ्नो नियन्त्रणमा रहेको गोलान हाइट्समा हवाई र स्थलगत सेनालाई थप बलियो बनाएको छ । यसैबीच अमेरिका समर्थित कुर्दिश फोर्सले इराकसँग सीमा जोडिएको सिरियाको पूर्वी शहर दियर–एल–जोरलाई नियन्त्रणमा लिएको दाबी गरेको छ ।



Enter Kantipur TV HD
Advertisement