सैन्य कानुन लागू गरेकामा दक्षिण कोरियाका राष्ट्रपतिले माग्नु भयो माफी

मंसिर २२, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
सैन्य कानुन लागू गरेकामा दक्षिण कोरियाका राष्ट्रपतिले माग्नु भयो माफी

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलले गत मंगलबार अप्रत्याशित रूपमा सैन्य कानुन अर्थात् ‘मार्शल ल’ लागू गरेको विषयमा अन्ततः माफी माग्नु भएको छ ।

राष्ट्रपति युनले ‘मार्शल ल’ घोषणा गरेपछि आज पहिलो पटक टेलिभिजन मार्फत राष्ट्रको नाममा सम्बोधन गर्दै जनतालाई अनावश्यक चिन्ता थपिदिएको भन्दै माफी माग्नु भएको हो । उहाँले ‘मार्शल ल’ को विषयमा माफी माग्नुका साथै अर्को ‘मार्शल ल’ लागू गर्ने कुनै योजना नरहेको प्रतिबद्धता व्यक्त गर्नुभएको बीबीसीले जनाएको छ ।

आज संसद्‌मा ६ विपक्षी दलले राष्ट्रपति युनको कदम विरुद्ध दर्ता गरेको महाभियोगको पक्षमा मतदान गर्न केही घण्टा बाँकी हुँदै राष्ट्रपतिले माफी माग्नु भएको हो । तर, आफूले घोषणा गरेको मार्शल लका लागि भने राजीनामा दिने विषयमा केही जानकारी नदिएको बताइएको छ ।

सम्बोधन सकिए लगत्तै सत्तारुढ दल पिपल्स पावर पार्टी–पीपीपीका अध्यक्ष हान डोङ हानले राष्ट्रपतिले माफी मागे पनि उहाँले कार्यकाल जारी राख्न असम्भव रहेको बताउनु भएको छ । उहाँको राजीनामा अपिहार्य रहेको अध्यक्षको भनाइ छ ।

हिजो सत्तारुढ दल पिपुल पावरले संसद्‌मा राष्ट्रपति विरुद्ध ल्याइएको महाभियोग प्रस्तावको पक्षमा उभिने संकेत गरेको थियो । नयाँ विकसित राजनीतिक परिस्थितिले बिहीबारसम्म राष्ट्रपति विरुद्धको महाभियोगको विपक्षमा उभिने भन्दै आएको ‘पीपीपी’ यू टर्न लिँदै पक्षमा उभिने बताएको थियो ।

राष्ट्रपति विरुद्ध संसद्‌मा दर्ता गराएको महाभियोग प्रस्तावमाथि आज मतदान हुँदै छ । महाभियोग प्रस्ताव पारित हुन संसद्को दुईतिहाइ मत चाहिनेमा विपक्षी दलहरूसँग जम्मा आठ मतको कमी छ । सत्तारुढ दल समेत महाभियोगको पक्षमा उभिएको अवस्थामा सो प्रस्ताव पारित हुने लगभग तय छ ।

यूनले मंगलबार मध्यरातमा अप्रत्याशित रूपमा देशमा ‘मार्शल ल’ लगाएको घोषणा गर्नु भएको थियो । घोषणा गरेको ६ घण्टाभित्रै जनता र संसद्को मतदानपछि सो घोषणा फिर्ता लिनु भएको थियो ।



Enter Kantipur TV HD
Advertisement