
रोल्पा । रोल्पाका उच्चपहाडी खर्कहरू यतिबेला भेडाका बथानले सेताम्मे भएर ढाकिएका छन्।
परम्परागत रूपमा गरिँदै आएको भेडापालन अहिले स्थानीयको आम्दानी राम्रो स्रोत बनेको छ। भेडापालनबाट राम्रो आम्दानी हुन थालेपछि वैदेशिक रोजगारीबाट फर्किएकाहरू समेत यसमै लागेका छन् ।
हरिया डाँडाकाँडा, खुला खर्क र त्यसमाथि चढिरहेका भेडाका सेताम्मे बथान। त्यहीँ बथानको बीचमा भेटिनुहुन्छ, रोल्पा सुनछहरी गाउँपालिकाका १ सेरमका चेतमान रोका क्षेत्री। बाल्यकालदेखि बाजेबुबासँगै खर्कमा भेडा चराउँदै हुर्किनुभएका चेतमान अहिले पनि यसैमा रमाइरहनु भएको छ ।
उहाँले १ सय ५० भन्दा बढी भेडा पाल्नुभएको छ । बिहानदेखि साँझसम्म भेडाको हेरचाह, चरन क्षेत्र व्यवस्थापनमा उहाँको दिन बित्छ । सुनछहरी गाउँपालिका-२ भित्रिगामका जंगबहादुर घर्तीमगर पनि १३ वर्ष वैदेशिक रोजगारीमा बिताएर स्वदेश फर्किई भेडापालन गरिहनुभएको छ ।
उहाँको गोठमा अहिले ३ सयभन्दा बढी भेडा छन् । विदेशको कमाइभन्दा आफ्नै गाउँमा भेडापालनबाट राम्रो आम्दानी हुने उहाँ बताउनुहुन्छ । बाजे-बुबाको पेसालाई निरन्तरता दिइरहेका चेतमान र जंगबहादुर प्रतिनिधि पात्र हुन् । रोल्पाका उच्चपहाडी भेगका धेरै नागरिक भेडापालनमा संलग्न छन् ।
उनीहरूले भेडाको मासु, ऊन तथा घ्यू बिक्रीबाट राम्रो आम्दानी गर्दैआएका छन् । किसानले एक सिजनमै दुईदेखि आठ लाख रुपैयाँसम्म आम्दानी गर्दैआएका छन् । भेडाबाट उत्पादित वस्तुहरू दाङ, बुटवल, पोखरा, काठमाडौं लगायतका सहरमा पुग्नेगरेका छन् ।
रोल्पाभर ३० हजारभन्दा बढी भेडा पालिएको अनुमान छ । भेडापालक किसानलाई प्रोत्साहनका लागि लुम्बिनी प्रदेश सरकालरले रैथाने बाली-वस्तु कार्यक्रमसमेत ल्याएको छ भने पशु चिकित्सकहरूसमेत समय-समयमामा भेडाका चरन क्षेत्रमै गएर उपचार र सल्लाह सुझाव दिने गरेका छन् ।
रोल्पाका भेडापालक किसानहरू चरन क्षेत्रको खोजीमा प्यूठान, रूकुम र बागलुङसम्म पुग्ने गर्दछन्। रोल्पाको भेडापालनले अझै व्यवस्थित र व्यवसायिक बनाउन सके स्वदेशमै ठूलो रोजगारी सिर्जना गर्न सकिने सम्भावना देखाएको छ।