दक्षिण कोरियाको सत्तारुढ दल पनि राष्ट्रपति यूनलाई महाअभियोग लगाउने पक्षमा

मंसिर २१, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
दक्षिण कोरियाको सत्तारुढ दल पनि राष्ट्रपति यूनलाई महाअभियोग लगाउने पक्षमा

काठमाडौं । दक्षिण कोरियाको सत्तारुढ दल पिपुल पावरले संसद्‍मा राष्ट्रपति यून सुक योलविरुद्ध ल्याइएको महाभियोग प्रस्तावको पक्षमा उभिने संकेत गरेको छ । नयाँ विकसित राजनीतिक परिस्थितिले हिजोसम्म राष्ट्रपतिविरुद्धको महाभियोगको विपक्षमा उभिने भन्दै आएको ‘पीपीपी’ 'यू टर्न' लिँदै पक्षमा उभिने बताएको हो ।

आज आकस्मिक बैठक डाकेर पार्टीका अध्यक्ष हान डोङ्ग हानले राष्ट्रपतीय अधिकार रहिरहे यूनले पुनः ‘मार्सल ल’को घोषणा गर्न सक्ने खतरा भएको बताउनुभएको छ । कोरिया र जनताको रक्षाका लागि राष्ट्रपतिलाई तत्काल उनको अधिकार प्रयोग गर्नबाट रोक्नु पर्ने हानको भनाइ छ । हानले ‘मार्सल ल’को समयमा यूनले आफ्नै दलका प्रमुख नेतालाई नियन्त्रणमा लिन सेनालाई आदेश दिएको सूचना प्राप्त भएको खुलासा गर्नुभएको छ ।

यसैबीच राष्ट्रपतिले पुनः ‘मार्सल ल’ को घोषणा गर्ने सक्ने भन्दै डेमोक्रेटिक पार्टीका सासंदहरु संसद्‍ भवनमा तैनाथ रहेको र भोलिसम्म संसद् भवन नछाड्ने बताएको छ । यस्तै सैन्य मानव अधिकारको नागरिक समूहले दोस्रो मार्सल ल घोषणाको संकेत देखा परेको दाबी गरेको छ ।

उक्त विषयमा कार्यवाहक रक्षामन्त्री किम से-ओन–होले राष्ट्रपतिले पुनः ‘मार्सल ल’ घोषणा गर्नेसक्ने रिपोर्टमा सत्यता नभएको दाबी गर्नुभएको छ । तर, उहाँले मार्सल लको अर्को घोषणा लागु गर्न कुनै पनि आदेशको पालना नगर्ने स्पष्ट पार्नुभयो । राष्ट्रपतिविरुद्ध संसद्‍मा दर्ता गराएको महाभियोग प्रस्तावमाथि भोलि मतदान हुँदैछ ।

महाभियोग प्रस्ताव पारित हुन संसद्को दुई तिहाइ मत चाहिनेमा विपक्षी दलहरुसँग जम्मा आठ मतको कमी छ । सत्तारुढ दलसमेत महाभियोगको पक्षमा उभिएको अवस्थामा सो प्रस्ताव पारित हुने लगभग तय छ ।

यूनले मंगलबार मध्यरातमा अप्रत्याशित रुपमा देशमा ‘मार्सल ल’ लगाएको घोषणा गर्नु भएको थियो । घोषणा गरेको ६ घण्टा भित्रै जनता र संसद्को मतदानपछि सो घोषणा फिर्ता लिनुभएको थियो ।



Enter Kantipur TV HD
Advertisement