न्युजिल्यान्डको हिमालमा बेपत्ता भएका तीन पर्वतारोहीको मृत्यु भएको आशंका

मंसिर २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
न्युजिल्यान्डको हिमालमा बेपत्ता भएका तीन पर्वतारोहीको मृत्यु भएको आशंका

काठमाडौं । न्युजिल्यान्डको हिमालमा गत साता बेपत्ता भएका दुई अमेरिकी र एक क्यानेडली गरी तीन पर्वतारोहीको मृत्यु भएको आशंका गरिएको छ ।

न्युजिल्यान्डको प्रहरीले आज पत्रकार सम्मेलन गरेर अमेरिका र क्यानडाका तीन पर्वतारोहीको मृत्यु भएको आशंका गरेको हो । प्रहरीले अमेरिकी नागरिक ५६ वर्षीय कर्ट ब्लेयर र ५० वर्षीय कार्लोस रोमेरो तथा नाम नखुलेका एक क्यानेडेली नागरिकको मृत्युको आशंका गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गत शनिबार तीन जना पर्वतारोही हेलिकोप्टरबाट माउन्ट कुक वा ओराकीको ३ हजार ७ सय २४ मिटर उचाइमा रहेको आधार शिविर पुग्ने योजनामा गएका थिए । ती पर्वतारोही गत सोमबार फर्कने तालिका थियो । तर, उनीहरु फिर्ती उडानमा देखा नपरेपछि प्रहरीले खोजी र उद्धारलाई तीव्र बनाएको थियो ।

प्रहरीले खोजी गर्दा मंगलबार ती पर्वतारोहीको सामान मात्र फेला परेको थियो । प्रहरीले बेपत्ता भएकाहरु बाँचेका छन् भनेर विश्वास नरहेको बताएको छ । तर, पर्वतारोहीको खोजी र अनुसन्धान भने जारी रहेको न्युजिल्यान्डका प्रहरी निरीक्षक विकी वाकरले बताउनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.