काठमाडौं । दक्षिण कोरियाको सत्तारुढ दल पिपुल पावर पार्टीका अध्यक्ष हान डोङ हुनले राष्ट्रपति यून सुक योललाई राष्ट्रपतीय अधिकार प्रयोग गर्नबाट तत्काल रोक्नु पर्ने बताउनु भएको छ ।
शुक्रबार पार्टीका नेताहरूको आपत्कालीन बैठक डाकेर अध्यक्ष हानले मार्शल ल लगाइएको समयमा यूनले राजनीतिक दलका प्रमुख नेतालाई नियन्त्रणमा लिन सेनालाई आदेश दिएको सूचना आफूसँग भएको खुलासा गर्नु भएको थियो । बैठकमा अध्यक्ष हानले राष्ट्रपतीय अधिकार रहिरहे यूनले पुनः मार्शल ल को घोषणा जस्ता चरम कदम चाल्न सक्ने खतरा भएको बताउनु भएको थियो ।
हानले गणतन्त्र कोरिया र यसका जनताको रक्षाका लागि राष्ट्रपतिलाई तत्काल उनको अधिकार प्रयोग गर्नबाट रोक्नु पर्ने अन्यथा देश गम्भीर खतरामा पर्ने सक्ने बताउनु भएको सरकारी समाचार समिति योनहापले जनाएको छ । नयाँ विकसित राजनीतिक परिस्थितिले हिजोसम्म राष्ट्रपति यून विरुद्धको महाभियोगको विपक्षमा उभिने जनाउँदै आएको पीपीपी ‘यू टर्न’ लिँदै अब त्यसको पक्षमा उभिने देखाएको छ ।
मार्शल ल घोषणा गरेको विषयलाई लिएर प्रमुख विपक्षि सहित ६ दलले राष्ट्रपति यून विरुद्ध संसद्मा दर्ता गराएको महाभियोग प्रस्तावमाथि शनिबार मतदान हुँदै छ । महाभियोग प्रस्ताव पारित हुन संसद्को दुईतिहाइ मत चाहिनेमा विपक्षी दलहरूसँग जम्मा आठ मतको कमी छ । सत्तारुढ दल समेत महाभियोगको प्रस्तावको पक्षमा उभिएको अवस्थामा सो प्रस्ताव पारित हुनेमा कुनै शंका रहने छैन ।
यूनले मंगलबार मध्यरातमा आश्चर्यजनक रूपमा देशमा सैनिक कानून लगाएको घोषणा गर्नु भएको थियो । यद्यपि जनताको स्वस्फुर्त विरोध र संसद्ले अमान्य घोषणा गरेपछि ६ घण्टाभित्रै सो घोषणा फिर्ता लिनु भएको थियो ।