काठमाडौं । भारतको संसद् भवन अगाडि विपक्षी इण्डिया गठबन्धनलगायत अन्य नेताले विरोध प्रदर्शन गरेका छन् ।
विपक्षी गठबन्धनका संसदीय दलका नेता तथा भारतीय कंग्रेसका सांसद राहुल गान्धी र प्रियंका गान्धीसमेतले केन्द्र सरकारविरुद्ध विरोध प्रदर्शन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विपक्षी सांसदहरुले भारतीय अर्बपति व्यावसायी गौतम अडानी मामिलामा संयुक्त संसदीय समिति गठन गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
विपक्षी संसदीय दलका नेता राहुल गान्धीले पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले आफू कारबाहीमा पर्ने डरले अडानीमाथिको आरोपमा छानबिन गर्न नचाहेको बताउनुभएको छ । अमेरिकाले अर्बपति गौतम अडानीलगायत सात जनाविरुद्ध ठेक्का हात पार्न घुस दिएको गम्भीर आरोप लगाएपछि विपक्षी गठबन्धनले संसदको हिउँदे सत्र सुरु भएकै दिनदेखि छानबिन गर्न र संसद्मा बहस गर्न माग गर्दै दुवै सदन अवरुद्ध गर्दै आएका छन् ।
यस्तै विपक्षीले मणिपुर र उत्तर प्रदेशको सम्भलमा भएको साम्प्रदायिक घटनाको विषयमा समेत संसद्मा बहस हुनुपर्ने भन्दै माग गर्दै आएका छन् । तर सरकारले यी विषयमा संसद्मा बहस चलाउनुको औचित्य नभएको बताउँदै आएको छ ।