कंगोमा ‘फ्लू’ जस्तो लक्षण भएको अज्ञात रोगबाट कम्तीमा ७९ जनाको मृत्यु

मृतक अधिकांश १५ देखि १८ वर्ष उमेर समूहका
मंसिर २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
कंगोमा ‘फ्लू’ जस्तो लक्षण भएको अज्ञात रोगबाट कम्तीमा ७९ जनाको मृत्यु

काठमाडौं । लोकतान्त्रिक गणतन्त्र कंगोको दक्षिण–पश्चिम क्षेत्रमा ‘फ्लू’ जस्तो लक्षण देखिने अज्ञात रोगबाट कम्तीमा ७९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालय उक्त विषयको पुष्टि गर्दै अज्ञात रोगबाट मृत्यु हुनेमा अधिकांश १५ देखि १८ वर्ष उमेर समूहको रहेको जानकारी दिएको हो । ज्वरो आउने, टाउको दुख्ने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएका लगभग तीन सयभन्दा बढी मानिस संक्रमित भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अज्ञात रोग क्वांगो प्रान्तको पान्जी स्वास्थ्य क्षेत्रमा देखा परेको हो । रोगको व्यवस्थापन र अनुसन्धान गर्न स्वास्थ्य टोली पठाइएको छ । नागरिक समाजका नेता सेफोरियन मान्जाले संक्रमितको संख्या बढ्दै गएकाले अवस्था चिन्ताजनक हुँदै गएको बताउनुभएको छ । उहाँले पान्जी ग्रामीण क्षेत्र भएकाले औषधिको आपूर्तिमा समस्या रहेको समेत अवगत गराउनुभएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) अफ्रिका क्षेत्रका एक अधिकारीले उक्त रोगको अनुसन्धानका लागि नमुना संकलन गर्न दुर्गम क्षेत्रमा एउटा टोली पठाएको बीबीसीलाई जानकारी दिएका छन् ।

अधिकारीले जनतालाई शान्त र सतर्क रहन आग्रह गर्दै दक्ष स्वास्थ्यकर्मीविना मृतकको शव नछुन आग्रहसमेत गरेका छन् । मध्य अफ्रिकी मुलुकले पनि एमपोक्सको गम्भीर प्रकोपको सामना गरिरहेको बेला नयाँ प्रकृतिको अज्ञात रोगले थप चिन्ता थपिदिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement