युद्धविरामकै बीच इजरायलद्वारा दक्षिणी लेबनानमा मध्यम दुरीको रकेट प्रहार

मंसिर १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
युद्धविरामकै बीच इजरायलद्वारा दक्षिणी लेबनानमा मध्यम दुरीको रकेट प्रहार

काठमाडौं । इजरायलको लडाकु विमानले दक्षिणी लेबनानमा मध्यम दुरीको रकेट प्रहार गरेको छ । इजरायली डिफेन्स फोर्स–आईडीएफले विज्ञप्ति जारी गर्दै लेबनानमा मध्यम दुरीको रकेट प्रहार गरेको जनाएको हो ।

दक्षिणी लेबनानमा आतंकवादी गतिविधि देखिनुका साथै हिजबुल्लाहले रकेट लञ्चर ओसार-पसार गरेको पत्ता लागेपछि इजरायली सेनाले आक्रमण गरेको आईडीएफले जारी गरेका विज्ञप्तिमा उल्लेख छ । 

हिजोमात्रै आईडीएफले लेबनानको दक्षिणी क्षेत्रमा रहेका करिब ६० गाउँका बासिन्दालाई घर नफर्किन नयाँ चेतावनी जारी गरेको थियो । चेतावनी जारी गरेपछि आईडीएफले पुनः हवाई आक्रमण गरेको बताइएको छ ।

करिब १४ महिनापछि इजरायल र हिजबुल्लाहबीच २७ नोभेम्बरमा ६० दिने अस्थायी युद्धविराम सम्झौता भएको थियो । सम्झौता हुनासाथ लाखौँ विस्थापित लेबनानी नागरिक घर फर्कंदै छन् । इजरायली सेनाले दक्षिणी लेबनानको एउटा नक्सा प्रकाशित गर्दै कुनै पनि विस्थापितलाई घर नफर्कन चेतावनी दिँदै फर्केमा आफूलाई खतरामा राख्ने स्पष्ट पारेको थियो ।

तीन दिनअघि भएको युद्धविराम सम्झौता कार्यान्वयन भए पनि त्यसको भोलिपल्टबाटै इजरायल र हिजबुल्लाहले सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै आएका छन् । यसैबीच, युद्धविराम सम्झौतापछि हिजबुल्लाह प्रमुख नइम कासिमले इजरायलले हिजबुल्लाहलाई नस्ट गर्न चाहे पनि नसकेको भन्दै आफूहरुको जित भएको दाबी गर्नुभएको छ । उहाँले प्यालेस्टिनप्रतिको सर्मथन भने यथावत रहनेसमेत स्पष्ट पार्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.