सिरियाको विद्रोही सेनाद्वारा एलेप्पो शहरको अधिकांश क्षेत्र नियन्त्रण

मंसिर १५, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
सिरियाको विद्रोही सेनाद्वारा एलेप्पो शहरको अधिकांश क्षेत्र नियन्त्रण

काठमाडौं । सिरियामा विद्रोही सेनाले देशको दोस्रो ठूलो शहर एलेप्पोका अधिकांश क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ । बेलायतमा रहेको अनुगमन समूह सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले यसको पुष्टि गरेको हो ।

शुक्रबार साँझ विद्रोही सेनाले शहरको आधाभन्दा बढी भाग आफ्नो नियन्त्रणमा लिएको बताइएको छ । यो सिरियाली सरकार विरुद्धको हालसम्मकै ठूलो धक्का भएको बीबीसीले जनाएको छ ।

सिरियाली सेनाले उक्त समूहलाई सन् २०१६ मा शहरबाट धपाएको थियो । तर फेरि विद्रोही सेनाले एलेप्पो शहरलाई आफ्नो नियन्त्रणमा लिएको बताइएको छ ।

इस्लामिस्ट उग्रवादी समूह हयात तहरीर अल–शाम (एचटीएस) सँग सम्बद्ध च्यानल मार्फत पोस्ट गरिएको भिडियोमा विद्रोही लडाकु शहरभित्र प्रवेश गरेको देखिन्छ । विद्रोही समूहले एलेप्पो र इडलिव शहरमा पकड बढाएको सरकारी सेनाले पनि स्वीकार गरेको छ ।

यसैबीच शुक्रबार सिरिया र रूसी वायूसेनाले एलेप्पोमा संयुक्तरूपमा विद्रोही समूह लक्ष्यित २३ वटा हवाई आक्रमण गरेको छ । जसमा दुई सय २५ जनाको मृत्यु भएको दाबी गरिएको छ । एल्लोपोमा अहिले पनि विद्रोही र सरकारी सेनाबीच मुठभेड जारी रहेको छ ।



Enter Kantipur TV HD
Advertisement