रुसले ऊर्जा पूर्वाधारलक्षित हमला बढाएपछि युक्रेनको जवाफी आक्रमण

मंसिर १४, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
रुसले ऊर्जा पूर्वाधारलक्षित हमला बढाएपछि युक्रेनको जवाफी आक्रमण

काठमाडौं । युक्रेनले रुसको रोस्तोभ क्षेत्रस्थित एट्लस तेल भण्डारणलक्षित आक्रमण गरेको छ । रुसले युक्रेनका विभिन्न क्षेत्रमा रहेको उर्जा पूर्वाधारलक्षित आक्रमण गरेपछि जवाफमा युक्रेनले पनि रुसको तेल भण्डारणलक्षित आक्रमण गरेको हो ।

रूसी सैन्य-औद्योगिक परिसरको प्रमुख हिस्सा मानिएको रूसको एटलस तेल डिपोमा आक्रमण गरिएको युक्रेनी सेनाले पुष्टि गरेको हो । रुसी नियन्त्रणमा रहेको दक्षिणपूर्वी जापोरिज्जियाक्षेत्रमा युक्रेनले आक्रमण गर्दा रुसी मिसाइल प्रणाली रहेको ‘राडार स्टेशन’ समेत ध्वस्त भएको बताइएको छ ।

रोस्तोभ क्षेत्रका कार्यवाहक गभर्नर युरी स्ल्युसरले पनि रिफाइनरी क्षेत्रमा आक्रमण भएको पुष्टि गर्नुभएको छ ।

यसैबीच, उत्तर कोरियाको औपचारिक भ्रमणका रहेका रुसी रक्षामन्त्री आन्द्रेई बेलोसोभले दुई देशबीचको सैन्य सहयोग द्रुत गतिमा विस्तार भइरहेको स्पष्ट पार्नुभएको छ । बेलोसोभले आजको वार्ताले मस्को र प्योङयाङबीचको सैन्य साझेदारीलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

उच्च तहमा भएका सबै सम्झौताहरू कार्यान्वयन गर्न रुस प्रतिबद्ध रहेको उहाँको भनाइ छ । बेलोसोभले उत्तर कोरियाको सैन्य र राजनीतिक नेतृत्वसँग वार्ता गर्ने रुसी सञ्चारमाध्यम तासले जनाएको छ।

युक्रेन युद्धमा रुस र उत्तर कोरियाबीच भएको सम्झौतापछि रुसले उत्तर कोरियाको सेनाको सहारा लिइरहेको आरोप लागेपछि पहिलो पटक रुसी रक्षामन्त्री बेलोसोभको उत्तर कोरिया भ्रमणले थुप्रै आशंका उब्जाएको बताइएको छ । अमेरिकाले पनि उत्तर कोरियाले रुसको कुर्स्क क्षेत्रमा हजारौं सेना पठाएको आरोप लगाउँदै आएको छ । मस्कोले अमेरिकी दाबीको पुष्टि वा खण्डन अहिलेसम्म गरेको छैन।



Enter Kantipur TV HD
Advertisement