गौतम अडानीका विषयमा बहस गर्नुपर्ने विपक्षीको अडानपछि भारतीय संसद् आज पनि स्थगित

प्रियंका गान्धीद्वारा संसद् सदस्यताको शपथ
मंसिर १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
गौतम अडानीका विषयमा बहस गर्नुपर्ने विपक्षीको अडानपछि भारतीय संसद् आज पनि स्थगित

काठमाडौं । भारतीय संसद्का दुवै सदन लोकसभा र राज्यसभाका बैठक आज तेस्रो दिन पनि स्थगित भएका छन् । अर्बपति व्यवसायी गौतम अडानी र उत्तर प्रदेशको संभालमा भएको साम्प्रदायिक दंगालगायतको विषयमा विपक्षले बहस गर्नुपर्ने अडान राखेपछि भारतीय संसद्का दुवै सदन भोलिसम्मका लागि स्थगित गरिएको हो ।

लोकसभा बैठकको सुरुमै विपक्षीले आफ्नो अडान कायम राख्दै हंगामा गरेका थिए । राज्यसभामा पनि विपक्षीले त्यही अडान दोहोर्‍याएका थिए । त्यसपछि दुवै सदनका बैठक स्थगित गरिएको हो ।

अडानीमाथि अमेरिकामा ठगीको गम्भीर आरोप लागेको छ । यस विषयमा संसद्‍मा छलफल गर्नुपर्ने अडान भारतीय कंग्रेस पार्टीको छ । तर सत्ता पक्ष यो विषयमा संसद्‍मा छलफल चलाउन तयार छैन । 

गत साता मात्रै अमेरिकाको न्युयोर्कमा अडानी र उहाँका भतिजा सागर अडानीसहित सात जनामाथि सौर्य उर्जा परियोजना निर्माणको ठेक्का हात पार्न सरकारी अधिकारीहरुलाई साढे २६ करोड अमेरिकी डलर घुस दिन सहमति जनाएको अभियोगमा मुद्दा दर्ता गरिएको थियो ।

अडानीमाथि लगाइएको आरोपको विषयमा भारतले कुनै टिप्पणी गरेको छैन । सत्तारुढ भाजपाले प्रतिरक्षा गर्ने काम अडानी समूहको भएको जनाएको थियो । यसैबीच हालै केरलको वायनाडबाट लोकसभा उपचुनावमा निर्वाचित कंग्रेस नेत्री प्रियंका गान्धीले आज शपथ लिनुभएको छ । उहाँले संविधानको प्रतिलिपि लिएर संसद् सदस्यताको शपथ लिनुभएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement