रुसद्वारा युक्रेनमाथि क्षेप्यास्त्र आक्रमण, लाखौं मानिस विद्युत् र खानेपानी सेवाबाट वञ्चित

मंसिर १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
रुसद्वारा युक्रेनमाथि क्षेप्यास्त्र आक्रमण, लाखौं मानिस विद्युत् र खानेपानी सेवाबाट वञ्चित

काठमाडौं । रुसले युक्रेनको उत्तर पश्चिम क्षेत्रको उर्जा पूर्वाधार लक्षित क्षेप्यास्त्र आक्रमण गरेको छ । युक्रेनी उर्जा मन्त्री हर्मन हालुस्सेन्कोले रुसी क्षेप्यास्त्र आक्रमणको पुष्टि गर्नुभएको हो ।

रुसले युक्रेनको राजधानी किएभसहित विभिन्न सहर लक्षित आक्रमण पुन: तीव्र पारेको बीबीसीले जनाएको छ । आज बिहानदेखि नै रुसले आक्रमण थालेपछि युक्रेनले राष्ट्रब्यापी रुपमा एयर रेड अलर्ट जारी गरेको छ । रुसी आक्रमणबाट जोगिन किएभका नागरिक भूमिगत स्थानमा बस्न बाध्य भएका छन् ।

उत्तर पश्चिम लुत्स क्षेत्रको उर्जा पूर्वाधार लक्षित गरी भएको आक्रमणमा त्यहाँका बासिन्दा विद्युत् सेवाविहीन भएको मेयर इहोर पोलिसचुकले बताउनुभएको छ । त्यस्तै रिभ्ने क्षेत्रमा भएको आक्रमणका कारण २ लाख ८० हजार मानिस पनि अन्धकारमा बस्ने बाध्य भएका छन् । आज रुसले उर्जा पूर्वाधारसहित नागरिक बाहूल्य क्षेत्रमा आक्रमण गरेको युक्रेनी पक्षले दाबी गरेको छ ।

यस्तै किएभको पश्चिम क्षेत्रमा रहेको उर्जा पूर्वाधारमा समेत रुसले आक्रमण गरेको छ । त्यहाँका झन्डै २ लाख ६० हजार मानिस विद्युत सेवाविहीन भएका छन् । ती क्षेत्रका नागरिकहरुको पानीको सप्लाईसमेत बन्द भएको छ ।

जवाफमा युक्रेनले मस्कोको दक्षिणी भागमा रहेको मुख्य तेल भण्डारणलक्षित आक्रमण गरेको छ ।गत आइतबारदेखि आजसम्म रुसले युक्रेनमा करिब १५ सय आक्रमण गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ । रुसी आक्रमणमा कयौ युक्रेनी घाइते भएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement