चीन र अमेरिकाद्वारा एकअर्काको जेलमा रहेका बन्दी साटासाट

मंसिर १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
चीन र अमेरिकाद्वारा एकअर्काको जेलमा रहेका बन्दी साटासाट

काठमाडौं । चीन र अमेरिकाले एकअर्काको जेलमा रहेका बन्दी साटासाट गरेका छन् । चिनियाँ जेलमा रहेका तीन जना अमेरिकीहरु बन्दी साटासाटको सम्झौता अन्तर्गत रिहा भएको र उनीहरु टेक्सस पुगिसकेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

आफ्ना नागरिक रिहाइको बदलामा अमेरिकाले पनि कम्तीमा एक जना चिनियाँ बन्दीलाई मुक्त गर्ने जनाइएको छ । पेरुमा हालै सम्पन्न एपेक शिखर सम्मेलनका बेला राष्ट्रपति जो बाइडनले चिनियाँ समकक्षी सी चिन फिङसँग आफ्ना नागरिकलाई चीनमा गलत तरिकाले बन्दी बनाइएको भन्दै उनीहरुलाई रिहा गरिदिन आग्रह गर्नुभएको थियो । महिनौंको कुटनीतिक संवादपछि बन्दी साटासाटको सम्झौता हुन सकेको जनाइएको छ ।

चीनले रिहा गरेका बन्धकहरुमा मार्क स्वीडान, काई लि र जोन लिउङ्ग रहेका छन् । ४८ वर्षीय स्वीडानलाई लागु औषध तस्करी गरेको अभियोगमा २०१२ मा गिरफतार गरिएको थियो भने उनलाई मृत्यु दण्डको सजाय सुनाइएको थियो । यस्तै ६० वर्षीय मार्क लि जासुसीको अभियोगमा २०१६ मा गिरफ्तारीमा परेका थिए ।

यसैगरी ७८ वर्षीय जोन लिउङ्गलाई २०२१ मा गिरफतार गरिएको थियो भने उनीमाथि पनि जासुसीको आरोप लगाइएको थियो । उनीहरुको रिहाइको बदलामा अमेरिकी जेलमा रहेका ४२ वर्षीय सु यान्जुनलाई रिहाइ गरिने न्युयोर्क टाइम्सले जनाएको छ । उनलाई दुई वर्षअघि जासुसीको अभियोगमा २० वर्षको जेल सजाय सुनाइएको थियो ।

चीनको राष्ट्रिय सुरक्षा मन्त्रालयका गुप्तचर अधिकारी सुलाई २०१८को अप्रिल बेल्जियममा गिरफ्तार गरी अमेरिकालाई सुपुर्दगी गरिएको थियो । अमेरिका सुपुर्दगी गरिने सु पहिलो चिनिया सरकारी गुप्तचर अधिकारी हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement