ट्रम्पको मन्त्रिपरिषद्‌का लागि मनोनीत व्यक्तिहरूलाई बम आक्रमणको धम्की

मंसिर १३, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
ट्रम्पको मन्त्रिपरिषद्‌का लागि मनोनीत व्यक्तिहरूलाई बम आक्रमणको धम्की

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पको मन्त्रिपरिषद्का लागि मनोनीत थुप्रै व्यक्ति विरुद्ध बम आक्रमणको धम्की आइरहेको संघीय जाँच ब्यूरो एफबीआईले पुष्टि गरेको छ । एफबीआईले ट्रम्पले आफ्नो मन्त्रिपरिषद्का लागि मनोनीत गरेका व्यक्तिहरूको घरमा बम राखिएको भन्दै प्रहरीलाई झुटा जानकारी सहितका फोनहरू ‘होक्स कल’ आएको जनाएको हो ।

ट्रम्पको सत्ता हस्तान्तरण टोलीका प्रवक्ता क्यारोलिन लिभिटले पनि ट्रम्पद्वारा मनोनीत व्यक्ति र परिवार लक्ष्यित हिंसाका धम्कीहरू आएको पुष्टि गर्नु भएको छ । उहाँले उनीहरूको सुरक्षा सुनिश्चिताका लागि सम्बन्धित निकायले तदारुकताका साथ काम गरिरहेको पनि बताउनु भयो । ट्रम्पले भावी रक्षा, आवास, कृषि र श्रम मन्त्रीका लागि मनोनयन गरेका व्यक्तिका साथै संयुक्त राष्ट्रसंघका लागि मनोनीत राजदूत लगायतका कम्तीमा नौ जना व्यक्ति विरुद्ध यस्ता धम्की दिइएको बीबीसीले उल्लेख गरेको छ ।

यस्तै हृवाइट हाउसको चिफ अफ स्टाफका लागि मनोनीत सुजी वाइल्स र महान्यायाधिवक्ता पदका लागि मनोनीत पाम बोन्डी, सीआईए प्रमुख पदका लागि मनोनीत जोन रेटक्लिफ विरुद्ध पनि यस्ता धम्की आएको सीबीएस र फक्स न्यूजले जनाएका छन् ।

मंगलबार राति र बुधबार बिहान आएका यस्ता धम्कीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । राष्ट्रपतीय चुनावी अभियानका क्रममा दुई पटकको हत्या प्रयासबाट जोगिनु भएका ट्रम्प वा उहाँको परिवारलाई भने यस्तो कुनै होक्स कल नआएको बताइएको छ । यद्यपि हालैका दिनमा एरिजोना प्रहरीले दिनहुँजसो सामाजिक सञ्जालमा ट्रम्प र उहाँको परिवारलाई मार्ने भन्दै भिडियो पोस्ट गर्ने एक जना व्यक्तिलाई गिरफ्तार गरेको थियो । राष्ट्रपति जो बाइडनलाई यी सबै घटनाबारे जानकारी गराइएको ह्वाइट हाउसले जनाएको छ ।



Enter Kantipur TV HD
Advertisement