युक्रेनलाई ७२ करोड डलर बराबरको सैन्य सहायता प्याकेज दिने बाइडेन प्रशासनको तयारी

मंसिर १३, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
युक्रेनलाई ७२ करोड डलर बराबरको सैन्य सहायता प्याकेज दिने बाइडेन प्रशासनको तयारी

काठमाडौं । बहिर्गमन उन्मुख अमेरिकी राष्ट्रपति जो बाइडन प्रशासनले युक्रेनलाई साढे ७२ करोड डलर बराबरको सैन्य सहायता प्याकेज दिने तयारी गरेको रोयटर्सले जनाएको छ । राष्ट्रपतिका रूपमा दुई महिना पनि कार्यकाल बाँकी नरहेका बाइडनले आगामी जनवरीमा सत्ता छाडनुअघि जेलेन्स्की सरकारलाई बलियो बनाउने चाहना स्वरूप यस्तो गर्न लाग्नु भएको हो ।

यो नयाँ सैन्य सहायता प्याकेज अन्तर्गन युक्रेनलाई बारुदी सुरुङ, ड्रोन, स्टिन्गर क्षेप्यास्त्र र हिमार्स रकेट प्रणालीका लागि गोला बारुद लगायत अमेरिकी भण्डारमा रहेका हतियार आपूर्ति गर्ने योजना रहेको स्रोतलाई उल्लेख गर्दै रोयटर्सले जनाएको छ । हतियार प्याकेज सम्बन्धमा संसद्लाई सोमबारसम्ममा औपचारिक सूचना दिइने सम्भावना रहेको बताइएको छ । बाइडनले आपत्कालीन अवस्थामा मित्र राष्ट्रहरूलाई सहयोग गर्न भण्डारमा रहेका हतियार आपूर्ति गर्न सक्ने राष्ट्रपतिको अधिकार ‘पीडीए’ प्रयोग गर्दै उक्त सैन्य सहायता प्याकेज दिन लाग्नु भएको बताइएको छ । बाइडनसँग चार अर्बदेखि पाँच अर्ब डलरसम्मको हतियार सहायता दिन सक्ने कांग्रेस प्रदत्त पूर्वअनुमति अझै बाँकी रहेको जनाइएको छ ।

डेढ साताअघि मात्रै बाइडनले युक्रेनलाई अमेरिकाले आपूर्ति गरेको लामो दूरीको मार हान्ने क्षेप्यास्त्र रूसमाथि प्रयोग गर्न अनुमति दिनुभएको थियो भने त्यसकै भोलिपल्ट किएभले ती हतियार प्रयोग गरेको थियो ।

आगामी जनवरी २० मा नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पले सत्ता सम्हालेपछि युक्रेनलाई दिइँदै आएको सहायता कटौती गर्न र यथास्थितिमा रूससँग सम्झौता गर्न दबाब दिन सक्ने आकलन गरिएको छ । उता रूस पनि निकै द्रुत गतिमा युक्रेनी भूभागभित्र अघि बढिरहेको र पछिल्लो एक महिनामा मात्रै उसले लन्डनको आधा भूभाग बराबरको युक्रेनी जमिन कब्जा गरिसकेको जनाइएको छ ।

यसैबीच बाइडनले इजरायललाई ६८ करोड डलरको हतियार बिक्री गर्न प्रारम्भिक सहमति जनाउनु भएको अल जजिराले उल्लेख गरेको छ । इजरायल र हिजबुल्लाहबीच युद्धविराम भएपछि गाजामा समेत युद्धविरामका लागि दबाब बढाउने अमेरिकी बाचाका बीच वासिङटनले तेल अभिभलाई थप हतियार बिक्री गर्न लागेको हो ।



Enter Kantipur TV HD
Advertisement