अर्बपति व्यवसायी अडानीको विषयलाई लिएर भारतीय संसदमा आज पनि हंगामा

मंसिर १२, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
अर्बपति व्यवसायी अडानीको विषयलाई लिएर भारतीय संसदमा आज पनि हंगामा

काठमाडौं । भारतीय संसद् अर्बपति व्यवसायी गौतम अडानीको मुद्दामा बहस गर्ने-नगर्ने विषयलाई लिएर आज दोस्रो दिन पनि अवरुद्ध भएको छ । विवादका कारण संसदका दुवै सदन लोकसभा र राज्यसभा भोलि विहान ११ बजे सम्मका लागि स्थगित गरिरएका छन् ।

आज भारतीय कंग्रेसले दुवै सदनमा अर्बपति व्यवसायी गौतम अडानीको मुद्दामा बहस गर्नुपर्ने भन्दै प्रस्ताव राखेपछि तनाव सिर्जना भएको थियो । अडानीमाथि अमेरिकामा ठगीको गम्भीर आरोप लागेको र सरकारले यस विषयमा बहस गर्नुपर्ने अडान कांग्रेसका सांसदहरुको थियो। तर सत्ता पक्ष उक्त विषयमा बहसका लागि तयार नभएका कारण दुवै सदनको बैठक स्थगित गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । संसदबाहिर विपक्षी दलका नेता राहुल गान्धीले सानातिना आरोपमा सयौं व्यक्ति गिरफ्तार भइरहेको अवस्थामा सरकार भने अडानीलाई बचाउन लागिपरेको आरोप लगाउनुभएको छ ।

कांग्रेसले अडानीलाई पक्राउ गर्न माग गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीसँग निकट सम्बन्ध रहेको आरोप लगाएको थियो । गत साता मात्रै अमेरिकाको न्युयोर्कमा अडानी र उहाँका भतिजा सागर अडानी सहित सात जनामाथि सौर्य उर्जा परियोजना निर्माणको ठेक्का हात पार्न सरकारी अधिकारीहरुलाई साढे २६ करोड अमेरिकी डलर घुस दिन सहमति जनाएको अभियोगमा मुद्दा दर्ता गरिएको थियो । अडानीमाथि लगाइएको उक्त आरोपको विषयमा भारत सरकारले केही टिप्पणी गरेको छैन ।

भाजपाले यसको सामना र प्रतिरक्षा गर्ने काम अडानी समूहको भएको जनाएको थियो । संघीय अभियोजकहरुले अडानी र उहाँका भतिजा सागरविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेका छन् । अडानी समूहले भने उक्त आरोप तथ्यहीन भन्दै यसका लागि आफूहरुले कानुनी विकल्प खोजिरहेको बताएको छ।



Enter Kantipur TV HD
Advertisement