पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै जारी आन्दोलन स्थगित

मंसिर १२, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै जारी आन्दोलन स्थगित

काठमाडौं । पाकिस्तान तहरिक ए इन्साफ पार्टी पीटीआईले पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै सुरु गरेको इस्लामाबाद विरोध कार्यक्रम फिर्ता लिएको छ ।

जेलमा रहेका आफना नेता तथा पूर्व प्रधानमन्त्री खानको रिहाइका लागि दबाब दिनभन्दै पीटीआईले गत आइतबारदेखि यो विरोध कार्यक्रम सुरु गरेको थियो भने देशका विभिन्न भागबाट आएको प्रदर्शनकारीको मोर्चा मंगलबार इस्लामाबाद प्रवेश गरेको थियो । केही प्रदर्शनकारी धर्नाका लागि तय गरिएको तर सरकारले रेड जोन घोषणा गरेको डेमोक्रेसी चोकसम्म पुग्न सफल भएका थिए ।

तर राति सुरक्षा फौजले एका-एक छापा हानेर अश्रुग्याससहित व्यापक कारबाही चलाएपछि प्रदर्शनकारी तितरबितर भएका थिए । प्रदर्शनको नेतृत्व गरिरहका इमरान खानकी श्रीमती बुश्रा बीबी र खैबर पख्तुनख्वा प्रान्तका मुख्यमन्त्री अलि अमिन गन्डापुर पनि सो स्थानबाट बाहिरिएका थिए । सरकारले भने उनीहरु त्यहाँबाट भागेको बताएको छ ।

प्रहरीले उनीहरुलाई गिरफ्तार गर्न खोजेको तर उनीहरु दुवै जना मोटर चढेर त्यहाँबाट बाहिरिएको र उनीहरु सुरक्षित खैबर पख्तुनख्वा प्रान्त पुगिसकेको जनाइएको छ । पीटीआईको सेन्ट्रल मिडिया सेलले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै सरकारको बर्बरता र राजधानीलाई निहत्था नागरिकको बधस्थल बनाउने योजनालाई दृष्टिगत गर्दै शान्तिपूर्ण विरोध प्रदर्शनलाई अस्थायी रुपमा स्थगित गरिएको जनाएको छ ।

विज्ञप्तीमा संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री खानको मार्गदर्शनमा भावी कार्यक्रमको घोषणा गरिने उल्लेख गरिएको छ । पीटीआईका प्रवक्ताले विरोध प्रदर्शनका क्रममा अहिलेसम्म पार्टीका आठ जना सहिद भएको बताउनु भएको छ । सुरक्षा निकायतर्फ पनि अहिलेसम्म चार जना मारिएको जनाइएको छ । विरोध प्रदर्शनको घोषणा भएयता पीटीआईका पाँच सय कार्यकर्तालाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

इस्लामाबाद आउने र सहरभित्र प्रवेश गर्ने क्रममा भएका झडपमा सयौं प्रदर्शनकारी घाइते भएको जनाइएको छ । पूर्वप्रधानमन्त्री खान विगत एक वर्षभन्दा बढी समयदेखि भ्रष्टाचार अभियोगमा रावलपिण्डीको जेलमा हुनुहुन्छ भने सन् २०२२ मा अविश्वास प्रस्तावद्वारा प्रधानमन्त्री पदबाट हटाइएयता उहाँविरुद्ध एक सयभन्दा बढी अभियोगमा मुद्दा चलाइएका छन् ।



Enter Kantipur TV HD
Advertisement