इजरायल र लेबनानको अर्धसैन्य समूह हिजबुल्लाहबीच युद्धविराम सम्झौता

स्थानीय समयअनुसार बुधबार बिहानदेखि कार्यान्वयन हुने
मंसिर १२, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
इजरायल र लेबनानको अर्धसैन्य समूह हिजबुल्लाहबीच युद्धविराम सम्झौता

काठमाडौं । इजरायल र लेबनानको सिया इस्लामिस्ट राजनीतिक तथा अर्धसैन्य समूह हिजबुल्लाहबीच युद्धविराम सम्झौता भएको अमेरिकी राष्ट्रपति जो बाइडनले घोषणा गर्नुभएको छ ।

स्थानीय समयअनुसार बुधबार बिहान चार बजेदेखि सम्झौता कार्यान्वयनमा आउने बताइएको छ । स्थायी युद्धविराम हुने गरी यो सम्झौताको प्रारुप तयार गरिएको बाइडनले बताउनुभएको छ । अमेरिकी मध्यस्थतामा यो सम्झौता भएको हो भने इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले यसप्रति सहमति जनाएको छ ।

सम्झौता अनुसार आगामी ६० दिनको अवधिमा इजरायली सेना लेबनानबाट चरणबद्ध रुपमा फिर्ता हुनेछ । यस्तै हिजबुल्लाहले पनि लेबनान र इजरायबीचको अनौपचारिक सीमा रेखा "ब्लुलाइन" र लिटानी नदी बीचको क्षेत्रबाट आफ्ना लडाकु र हतियारलाई हटाउनेछ ।

त्यस क्षेत्रमा रहेका हिजबुल्लाहका लडाकुलाई लेबनानी सेनाले प्रतिस्थापित गर्नेछन् । इजरायली सेना दक्षिणतर्फ र हिजबुल्लाह लडाकु उत्तरतर्फ पछाडी हटेपछि त्यस क्षेत्रका विस्थापित सर्वसाधारण आ-आफ्नो घर फर्किन सक्ने बाइडनले बताउनु भएको छ । लेबनान इजरायलको उत्तरमा अवस्थित छ ।

यो सम्झौताले सन् २००६ को इजरायल र हिजबुल्लाह युद्ध अन्त्य गर्ने गरी राष्ट्रसंघीय सुरक्षा परिषद्‍बाट पारित "प्रस्ताव नम्बर १७ सय १ "को अनुशरण गर्दछ भने युद्बविराम लागु गराउने त्रिपक्षीय संयन्त्रमा अब अमेरिका र फ्रान्सको पनि योगदान हुनेछ । यो त्रिपक्षीय स‌ंयन्त्रमा लेबनान र इजरायली सेनाका साथै राष्ट्रस‌ंघीय शान्ति मिसन -यूनीफील स‌ंलग्न रहँदै आएका छन् ।

इजरायल र प्यालेष्टाइनी लडाकु समूह हमासबीच गाजा युद्ध सुरु भएयता इजरायल र हिजबुल्लाहले पनि एक अर्कामाथि छिटपुट आक्रमण गर्दै आएका थिए । करिब दुई महिनाअघि इजरायली स्थल सेनाले लेबनानभित्र परिचालित भइ हिजबुल्लाहविरुद्ध व्यापक कारबाही गर्दै आएको थियो । पछिल्लो एक वर्षको अवधिमा लेबनानमा ३ हजार ८ सयभन्दा बढी मारिएका छन् ।



Enter Kantipur TV HD
Advertisement