काठमाडौं । विश्वकप २०२६ मा ठुला र हेभिवेट भनिएका टोलीहरुले कमजोर आकलन गरिएका राष्ट्रहरुबाट अप्रत्याशित र अस्चर्यजनक प्रतिस्पर्धा व्यहोर्ने क्रम जारी छ । ब्राजिल र स्पेनपछि पोर्चुगल पनि यो सूचीमा समावेश भएको छ । गएराति भएको कंगो विरुद्धको खेलमा पोर्चुगलको प्रर्दशनको बारेमा यो रिभ्यु ।
फुटबलमा एउटा उखान छ ‘एभ्री गेम स्टार्स विथ ०–० स्कोर, ईट्स द पर्फरमेन्स दयाट म्याटर्स’ । अर्थात, जस्तोसुकै खेल पनि शुन्य शुन्यबाटै सुरु हुन्छ र तपाईको पर्फरमेन्सले नै खेलको नतिजा निर्धारण गर्छ । गएराति पोर्चुगल र कंगोविरुद्धको खेलमा पनि त्यस्तै अवस्था देखियो । खेल सुरु हुनुअघि विश्वभरीका फुटबल विश्लेषक र फ्यानहरुले पोर्चुगललाई नै फेवरेट्स भनेका थिए । ह्युस्टनको एनआरजी स्टेडियममा खेलको सुरवातमा पनि यही देखियो । एकातिर च्याम्पियन्स् लिग, साउदी लिग, बालोन दि ओर जितेका सुपरस्टर खेलाडीहरूले भरिएको पोर्चुगल, अर्कोतिर ५२ वर्षपछि विश्वकपमा फर्किएको कंगो । तर ९० मिनेटको खेल सकिँदा नतिजाले विश्व फुटबललाई नै आश्चर्यचकित बनाएको छ ।
खेलको छैटौं मिनेटमै जोआओ नेभ्सले हेडमार्फत गोल गर्दा लाग्दै थियो, पोर्चुगलले आज गोलको वर्षा गर्नेछ । ७५ देखि ८० प्रतिशतसम्म बल पोजिसन राखेको पोर्चुगलले कंगोलाई रक्षात्मक बन्न बाध्य बनाएको थियो । तर, रोबर्टो मार्टिनेजको टोली कंगोले सेट गरेको डिफेन्सिभ ट्र्यापमा फस्यो । उनीहरूले पासका लागि मात्र पास खेले, गोलका लागि आक्रमण गरेको त देखिएन ।
तर, अर्कोतर्फ कंगोका लागि पहिलो हाफको अन्तिम क्षणमा इतिहास लेखियो। अर्थर मासुआकुको क्रसलाई योने विसाले जाली चुमाउँदै कंगोका लागि विश्वकप इतिहासकै पहिलो गोल दर्ता गरे ।
सन् २०२१ मा एसिड आक्रमणमा परेर झन्डै आफ्नो दृष्टि गुमाएका विसा आज विश्वकपको नायक बनेका छन् । दोस्रो हाफमा कंगोले २०१६ को युरो विजेता पोर्चुगलविरुद्ध डिफेन्सिभ मास्टर क्लास प्रस्तुत गर्यो । प्रशिक्षक सेबास्टियन देसाब्रेको ५-३-२ को रणनीतिले पोर्चुगलका स्ट्राइकरलाई कतै चलमलाउन दिएनन् । चान्सल म्बेम्बा र एक्सेल तुआन्जेबेले पोर्चुगलका हरेक आक्रमण असफल पारे । अझ म्यानचेस्टर युनाईटेडमा रोनाल्डोसँगै ड्रेसिङ रुम शेयर गरेका एरोन वान बिसाकाको डिफेन्सिभ पर्फर्मेन्स त झन लोभलाग्दो नै रह्यो । अब कुरा गरौं रोनाल्डोको । गएरातिको खेल क्रिस्टियानो रोनाल्डो समर्थकका लागि त हरर शो जस्तै भयो भन्दा फरक नपर्ला ।
खेल अगाडी र खेलमा पनि सबैको नजर ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोमा थियो, जो आफ्नो छैटौं विश्वकप खेल्दै इतिहास बनाउँदै थिए । तर मैदानमा उनी एउटा 'बोझ' जस्तै देखिए । पुरा खेलमा उनले मात्र २५ पटक बल टच गरे ।
फ्रान्सका लिजेन्ड थिएरी हेनरीले रोनाल्डोको आलोचना गर्दै उनलाई "स्वार्थी" सम्मै भन्न भ्याएका छन् । हेनरीका अनुसार, दोस्रो हाफमा ब्रुनो फर्नान्डेजको स्पष्ट मौकामा रोनाल्डो बीचमा आउँदा पोर्चुगलले जित्ने मौका गुमाएको थियो । पोर्चुगल यो विश्वकप आफ्ना पूर्व टिममेट डियोगो जोटाको सम्झनामा खेलिरहेको छ, जसको गत वर्ष कार दुर्घटनामा मृत्यु भएको थियो । खेलाडीहरूले जोटाको नाम अंकित रिस्टब्यान्ड लगाए पनि मैदानमा उनलाई उचित सम्मान दिलाउन सकेनन् ।
बराबरीसँगै पोर्चुगलका लागि विश्वकपको अबको बाटो कठिन भएको छ। प्रशिक्षक मार्टिनेजले अब टोलीमा "स्थिर लाइनअप" नहुने र ठूलो परिवर्तन आवश्यक रहेको बताएका छन् । यदि अर्को खेलमा उज्बेकिस्तानविरुद्ध पनि पोर्चुगलले यस्तै प्रदर्शन गर्यो भने, उनीहरू समूह चरणबाटै सहजै बाहिरिने छन् ।