पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै आज पनि प्रदर्शन जारी

मंसिर ११, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै आज पनि प्रदर्शन जारी

काठमाडौं । पाकिस्तानको तहरीख–ए–इन्साफ (पीटीआई)का कार्यकर्ताहरूले पूर्व प्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै राजधानी इस्लामाबादको सीमामा प्रवेश गरेका छन् ।

आन्दोलनकारीलाई रोक्न सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रदर्शनकारीहरूको लक्ष्य इस्लामाबादको डी–चोक पुग्नु हो । जहाँ राष्ट्रपति भवन, प्रधानमन्त्रीको कार्यालय, संसद् र सर्वोच्च अदालत छ । समर्थकले श्रीनगर राजमार्गमा रेन्जर्सलाई सवारी साधनले किचेको बताइएको छ । रिपोर्टका अनुसार हालसम्म चार रेन्जर र दुई प्रहरी अधिकारीले ज्यान गुमाएका छन् भने सयभन्दा बढी प्रहरी घाइते भएका छन् ।

प्रदर्शनकारीले इमरानको रिहाइको माग गर्दै संसद्‍मा मार्च र धर्ना दिने घोषणा गरेका थिए । त्यसका लागि सरकारले कडा नाकाबन्दी लगाएको छ । प्रदर्शनकारीलाई रोक्न राष्ट्रिय राजमार्गमा ब्यारिकेड लगाइएको छ । तर इमरानका समर्थकहरूले ब्यारिकेडहरू हटाएर इस्लामाबाद प्रवेश गर्ने क्रममा कार्यकर्ता र प्रहरीबीच हिंसात्मक झडप भएको छ ।

खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली अमीन गन्डापुर र इमरान खानकी पत्नी बुशरा बीबीको नेतृत्वमा प्रदर्शनकारीले आइतबारदेखि इस्लामाबादको यात्रा सुरु गरेका थिए । इस्लामावाद प्रशासनले पाकिस्तानको संविधानको धारा २ सय ४५ अन्तर्गत कानुन र व्यवस्था बहाल गर्न सेना बोलाएको छ । साथै आवश्यक परेमा गोली चलाउन समेत आदेश जारी गरिएको छ ।

यसैबीच, पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले इमरानका समर्थकलाई निषेधित क्षेत्र पार नगर्न चेतावनी दिनुभएको छ । बेलारुसका राष्ट्रपति औपचारिक भ्रमणमा इस्लामावादमा रहेकाले इस्लामावादको अवस्था पहिलेदेखि नै संवेदनशील रहेको उहाँको भनाइ छ ।

निषेधित क्षेत्र पारे गरे आफूहरुल कर्फ्यू लगाउन वा कुनै अन्य चरम उपायहरू लिन नहिचकिचाउने स्पष्ट पार्नुभएको छ । यसै वर्षको जनवरीमा इस्लामावादको एक अदालतले तोशाखाना मुद्दामा इमरान खानलाई १४ वर्षको जेल सजाय सुनाएको थियो । यसबाहेक २० लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि लगाइएको छ ।



Enter Kantipur TV HD
Advertisement