महिलाविरुद्धको हिंसा उन्मूलन दिवसमा स्पेनमा र्‍याली

मंसिर ११, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
महिलाविरुद्धको हिंसा उन्मूलन दिवसमा स्पेनमा र्‍याली

काठमाडौं । महिलाविरुद्धको हिंसा उन्मूलन दिवसको अवसरमा स्पेनमा विशाल र्‍याली निकालिएको छ । नोभेम्बर २५ मा अन्तर्राष्ट्रिय महिलाविरुद्धको हिंसा उन्मूलन दिवस मनाइन्छ ।

यो वर्ष स्पेनमा महिला हिंसाका ४१ वटा घातक घटना दर्ता भएको थियो । ५० भन्दा बढी नगरमा आयोजित र्‍यालीमा प्रदर्शनकारीले महिला हिंसा उन्मूलनको पक्षमा नारा लगाएका थिए । म्याड्रिडमासमेत दुई छुट्टाछुट्टै र्‍यालीको आयोजना गरिएको थियो ।

प्रदर्शनकारीले सेतो लुगा र सेतो मास्क लगाएर सन् २०२४ मा अहिलेसम्म मारिएका महिलाको नाम, उमेर र स्थान लेखिएको प्लेकार्ड समेत बोकेका थिए । यसअघि गत सोमबार प्रहरीले एलिसेन्टे प्रान्तमा १५ वर्षीया पूर्वप्रेमिकालाई छुरा प्रहार गरेको आरोपमा १७ वर्षीय पुरुषलाई पक्राउ गरेको थियो । सो आरोप पुष्टि भएमा स्पेनमा यो वर्ष लैङ्गिक हत्याको संख्या ४२ पुग्नेछ ।

राष्ट्रिय तथ्यांक संस्थानका अनुसार स्पेनमा महिलाहरूका लागि सबैभन्दा घातक वर्ष २००८ थियो, जसमा ७६ जनाको मृत्यु भएको थियो । स्पेनमा सन् २००३ देखि हालसम्म कुल महिला पीडितको संख्या १ हजार २ सय ८६ रहेको समानता मन्त्रालयको तथ्यांकले देखाएको छ ।

यसअघि उक्त दिवसको दुई दिनअघि गत शनिबार फ्रान्सको राजधानी पेरिस लगायतका सहरमा व्यापक प्रर्दशन भएको थियो । पेरिसमा करिब ८० हजार मानिस सडकमा ओर्लिएका थिए ।



Enter Kantipur TV HD
Advertisement