गाजा युद्धबिरामका लागि इजरायललाई दबाब दिन डनल्ड ट्रम्पसमक्ष हमासको आग्रह

मंसिर १, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
गाजा युद्धबिरामका लागि इजरायललाई दबाब दिन डनल्ड ट्रम्पसमक्ष हमासको आग्रह

काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमास इजरायल गाजा युद्ध अन्त्य गर्न अन्ततः सहमत भएको छ । अमेरिकामा भर्खरै सम्पन्न भएको राष्ट्रपतिको चुनावमा रिपब्लिकन उम्मेदवार डनल्ड ट्रम्पले जित हासिल गरेपछि एक वर्षदेखि जारी युद्ध अन्त्य गर्न हमास सहमत भएको हो ।

हमासका उच्च पदस्थ अधिकारीले अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पलाई गाजा युद्ध अन्त्य गर्न इजरायललाई दबाब दिनसमेत आग्रह गर्नुभएको टाइम्स अफ इजरायलले जनाएको छ ।

हमासका वरिष्ठ अधिकारी बसेम नइमले हमास गाजामा ‘युद्धविरामको लागि तयार’ रहेको बताउँदै अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पलाई इजरायललाई ‘गाजामा आक्रमण अन्त्य नगर्न’ दबाब दिन आग्रह गर्नुभएको छ ।

युद्ध विरामको प्रस्ताव पेश गरिए र उक्त प्रस्तावलाई सम्मानपूर्वक इजरायलले पनि स्वीकार गरे हमास युद्ध विराम गर्न तयार रहेको हमासका वरिष्ठ अधिकारी नइमलाई उद्धृत गर्दै एएफपीले उल्लेख गरेको छ । 

तर, प्यालेस्टिनी लडाकु समूह हमासले गाजाबाट पूर्ण र स्थायी रुपमा इजरायली सेना फिर्तीलाई समावेश नगर्ने कुनै पनि युद्धविराम सम्झौतालाई स्वीकार नगर्ने नइमले स्पष्ट पार्नुभएको छ । विगतमा निरन्तर युद्ध विरामका लागि पहल भए पनि इजरायल र हमासबीच सहमति हुन सकेको छैन ।

यसैबीच, इजरायलले भने गाजामा आफ्नो आक्रमणलाई जारी राखेको छ । त्यस्तै, इजरायली सेनाले निरन्तर गरिरहेको आक्रमणका कारण उत्तरी गाजाको अवस्था भयावह बनेको छ । त्यहाँ मानवीय सहायता पुग्न निकै कठिनाइ भइरहेको राष्ट्रसंघीय निकायले चिन्ता व्यक्त गर्दै आएको छ ।

यसैबीच, लेबनानका लागि अमेरिकी राजदूत लिसा जोनसनले इजरायल र हिजबुल्लाहबीचको युद्ध अन्त्य गर्न लेबनानको प्रतिनिधिसभाका सभामुख नाबिह बेरीलाई लिखित प्रस्ताव पेश गर्नुभएको छ । जसमा इरानले समेत समर्थन गरेको इरानी सर्वोच्च नेता अली खामेनेईका वरिष्ठ सल्लाहकार लारिजानीले बताउनुभएको छ । 

लारिजानीले आफूहरुले पनि द्वन्द्व भड्काउन भन्दा पनि समस्याको समाधान खोज्न चाहेको स्पष्ट पार्नुभएको छ । हिजबुल्लाहले समेत उक्त प्रस्तावमाथि विचार गर्ने विषयमा उहाँले आश्वस्त पार्नुभएको छ ।