श्रीलंकामा राष्ट्रपति दिशानायकेको गठबन्धन ‘एनपीपी’लाई स्पष्ट बहुमत

कार्तिक ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
श्रीलंकामा राष्ट्रपति दिशानायकेको गठबन्धन ‘एनपीपी’लाई स्पष्ट बहुमत

काठमाडौं । श्रीलंकामा हिजो सम्पन्न संसदीय निर्वाचनमा वामपन्थी राष्ट्रपति अनुराकुमारा दिशानायकेको राजनीतिक गठबन्धन नेशनल पिपुल्स पावर ‘एनपीपी’ले स्पष्ट बहुमत हात पारेको छ ।

संसद्‌का कुल २ सय २५ सिटमध्ये बहुमतका लागि १ सय १३ स्थान जित्नु पर्नेमा एनपीपीले कम्तीमा १ सय ४१ सिट जितिसकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अघिल्लो संसद्‌मा दिशानायकेको गठबन्धनले संसद्‌मा जम्मा ३ सिट जितेको थियो । तीन चौथाई मत गनिसक्दासम्म एनपीपीले खसेको मतको ६२ प्रतिशत मत प्राप्त गरेको जनाइएको छ ।

यसैगरी प्रमुख प्रतिपक्षी गठबन्धन समागी जन बलावेगया एसजेबी १८ प्रतिशत र पूर्वराष्ट्रपति रनिल विक्रमासिंघेको समर्थन प्राप्त दल नेशनल डेमोक्र्याटिक फ्रन्टले साढे ४ प्रतिशत मत प्राप्त गरेको छ । विपक्षी गठबन्धन एसजेबीको नेतृत्व राष्ट्रपतीय निर्वाचनमा दिशानायकेसँग पराजित नेता साजिथ प्रेमादासाले गरिरहनु भएको छ ।

करिब १ करोड ७१ लाख योग्य मतदाता रहेकोमा करिब ६५ प्रतिशत मत खसेको निर्वाचन आयोगको पूर्वानुमान छ ।

संसद्का कुल २ सय २५ सिटमध्ये १ सय ९६ जना प्रत्यक्ष निर्वाचित हुन्छन भने बाँकी २९ सिट समानुतिक प्रतिनिधित्व प्रणाली अन्तर्गत पार्टीहरुले देशभरबाट पाएको मतको आधारमा जित्ने गर्दछन् । दुई महिनाअघि मात्रै राष्ट्रपति पदमा निर्वाचित हुनुभएका ५५ वर्षीय दिशानायकेले संसद विघटन गर्दै समय अगावै निर्वाचन गराउनु भएको हो ।

देशलाई आर्थिक संकटबाट पार लगाउनु र भ्रष्टाचार विरुद्ध लड्नु दिशानायकेको मुख्य चुनौतीका रुपमा हेरिएको छ । संसद्‌मा स्पष्ट बहुमत भइसकेपछि दिशानायकेलाई आफ्ना सुधारका नीतिहरु लागु गराउन सहज हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.