काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आगामी वर्षहरूमा पाकिस्तानले आफ्नो बजेटमा कडा नियन्त्रण गर्नुपर्ने बताएको छ ।
आईएमएफले पाकिस्तानका लागि प्राविधिक सहयोग प्रतिवेदन सार्वजनिक गर्दै आगामी वर्षहरुमा बजेटमा कडा नियन्त्रण गर्नुपर्ने विषयमा जोड दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
आईएमएफका अनुसार पाकिस्तानको कुल राजस्वको ६० प्रतिशत ब्याज तिर्न खर्च भइरहेको छ। पाकिस्तानले सार्वजनिक वित्तीय व्यवस्थापनमा ध्यान दिन र यसमाथि थप काम गर्न आवश्यक रहेको आइएमएफको प्रतिवेदनमा उल्लेख छ ।
आइएमएफले पाकिस्तानको ऋण भुक्तानी आर्थिक वर्ष सन् २०१७ यता दोब्बर भएको जनाएको छ । आईएमएफले देशका वित्तीय संस्थाहरूलाई थप विश्वसनीय बजेट वितरण गर्न, त्यसको कडा कार्यान्वयन गर्न र नीतिगत ढिलासुस्ती रोक्न सुझाव दिएको छ ।