अमेरिकाद्वारा इजरायल र इरान समर्थित समूह हिजबुल्लाहबीच पहिलो पटक युद्धविरामको प्रस्ताव

कार्तिक ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिकाद्वारा इजरायल र इरान समर्थित समूह हिजबुल्लाहबीच पहिलो पटक युद्धविरामको प्रस्ताव

काठमाडौं । अमेरिकाले इजरायल र इरान समर्थित समूह हिजबुल्लाहबीच पहिलो पटक युद्धविरामको प्रस्ताव गरेको छ ।

लेबनानस्थित अमेरिकी राजदूत लिसा जोनसनले लेबनानी प्रतिनिधिसभाका सभामुख नाबिह बेरीसँग भेटेर लिखितरुपमा युद्धविराम प्रस्ताव पेश गर्नुभएको हो ।

सभामुख बेरी हिजबुल्लाहका सहयोगी र उक्त समूहसँग कूटनीतिक सम्पर्कका लागि मध्यस्थकर्ता हुन् । अमेरिकाद्वारा पेश गरिएको युद्ध विराम प्रस्ताव लेबनानी र हिजबुल्लाहलाई अवलोकन गर्ने मौका रहेको स्रोतलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।

एक वर्षदेखि जारी इजरायल र हिजबुल्लाहबीचको युद्धलाई अन्त्य गर्न प्रस्तावको विस्तृत जानकारी बाहिर नआए पनि युद्ध विरामको पहल विगतका दिनहरुमा देखा परेको बताइएको छ । पेश गरिएको प्रस्तावमा युद्धविरामको अनुगमन गर्न र संयन्त्र निर्माण गर्न अन्य मुलुकलाई समेत समावेश गरिएको छ ।

युद्ध विरामका केही पक्षहरुमा सहमत देखिए पनि इजरायलले भने हिजबुल्लाहविरुद्ध कारवाही गर्न लेबनानमा प्रवेश गर्ने अधिकारको माग गरेको छ ।

इजरायलले तत्कालै युद्ध विराममा सहमति जनाउने विषय अकल्पनीय रहेको लेबनानी स्रोतलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्को सन् १७०१ को प्रस्ताव वरिपरि केन्द्रित रहेर युद्ध विराम कार्यान्वयन गर्ने पहल भइरहेको छ । जसले सन् २००६ मा इजरायल–हेजबुल्लाह युद्ध समाप्त गरेको थियो । हालै अमेरिकाद्वारा पेश गरिएको युद्ध विराम प्रस्तावमा हिजबुल्लाहलाई इजरायलको सीमाबाट फिर्ता हुन र भविष्यमा हिजबुल्लाहलाई बलियो बनाउनबाट रोक्ने विषय पनि समावेश छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.