काठमाडौं । जर्मन चान्सलर ओलाफ स्कोल्जले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरेर युक्रेनसँग शान्ति वार्ताका लागि पहल गर्न आग्रह गर्नुभएको छ ।
दुई वर्षपछि पहिलो पटक जर्मन चान्सलर स्कोल्जले फोन गरेर पुटिनसँग यस्तो आग्रह गर्नुभएको हो । स्कोल्ज र पुटिनबीच सन् २०२२ डिसेम्बरपछि पहिलो पटक कुराकानी भएको र कुराकानी एक घन्टासम्म चलेको बीबीसीले जनाएको छ ।
स्कोल्जले युक्रेनविरुद्धको रुसी आक्रमणको पुटिनसामू निन्दा गर्नुभएको छ । साथै उहाँले पुटिनलाई युक्रेन युद्धलाई अन्त्य गर्न तथा आफ्नो सेना फिर्ता गर्न समेत आग्रह गर्नुभएको बताइएको छ । स्कोल्जले न्यायपूर्ण र स्थायी शान्ति प्राप्त गर्ने उद्देश्यले युक्रेनसँग वार्ता गर्ने इच्छा प्रकट गर्न रुसलाई आग्रह गर्नुभएको हो ।
स्कोल्जले विशेष गरी युक्रेनमा नागरिक पूर्वाधारमाथि रुसी हवाई हमलाको पुटिनसमक्ष समेत निन्दा गर्नुभएको बताइएको छ ।
उहाँले युक्रेनविरुद्ध लडाइँका लागि उत्तर कोरियाली सैनिकहरू रुसमा पठाउँदा द्वन्द्व थप भड्किने र विस्तार हुने कुरा पुटिनसमक्ष स्पष्ट पार्नुभएको बीबीसीले जनाएको छ । स्कोल्जले रुसी आक्रामकता विरुद्धको लडाइँमा युक्रेनलाई आवश्यक समर्थन गर्ने जर्मनीको दृढतालाई पनि जोड दिनुभएको छ ।
दुई नेताहरूले ‘स्पष्ट विचार आदानप्रदान’ गरेको र यो आह्वान जर्मनीको पहलमा सुरु भएको क्रेमलिनले बताएको छ । साथै उक्त फोनवार्ता सकारात्मक रहेको क्रेमलिनका प्रवक्त डिमीत्री पेस्कोभले बताउनुभएको छ । रुसी राष्ट्रपति पुटिनसँग पुनः चान्सलर स्कोल्जले कुराकानी गर्ने बताइएको छ ।
यसैबीच युक्रेनी राष्ट्रपति जेलेन्स्कीले एक भिडियो सन्देश जारी गर्दै पुटिन र स्कोल्जबीचको वार्ताले पुटिनलाई एक्ल्याउने प्रयासलाई कमजोर पारेको बताउनुभएको छ ।