काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।
निर्वाचन आयोगले आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयन दर्ता गर्न सक्ने जनाएको छ । स्थानीय तह उपनिर्वाचनका लागि आयोगले ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिसकेको छ ।
आयोगले मंसिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, त्यही दिन ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवम् निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने जनाएको छ ।
मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ ।
मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदानको कार्यक्रम तय गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक-एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।