भारतको झाँसीस्थित एक अस्पतालको एनआईसीयूमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु

१६ घाइते, ४५ शिशुको उद्धार
मंसिर १, २०८१ |कान्तिपुर टीभी संवाददाता
भारतको झाँसीस्थित एक अस्पतालको एनआईसीयूमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेशको झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा भीषण आगलागी हुँदा १० नवजात शिशुहरूको मृत्यु भएको छ । अस्पतालको नवजात शिशु सघन उपचार कक्ष एनआईसीयूमा आगलागी भएको हो ।

दुर्घटना गएराति स्थानीय समय अनुसार पौने ११ बजे घटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आगलागीको मुख्य कारण विद्युतीय सट सर्किट रहेको बताइएको छ । आगलागी हुनु भन्दा अगाडी उक्त कक्षमा ५५ शिशु उपचाररत थिए । 

त्यसमध्ये १० मृत्यु भएको हो भने ४५ जनालाई उद्धारकर्मीहरूले सुरक्षित निकाल्न सफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ४५ जना शिशुलाई बाहिर निकालिएपनि १६ जना नवजात शिशु घाइते भएको र उनीहरूको उपचार भइरहेको बताइएको छ । सेनाको टोली र वारुणयन्त्रका मद्दतले आगो निभाइएको बताइएको छ । 

घटनाको जानकारी दिँदै अस्पतालले अक्सिजन कन्सेन्ट्रेटर भित्र अचानक आगो लागेको र आगो निभाउने प्रयास गरिएपनि कोठामा अक्सिजनको मात्रा बढी भएकाले आगो द्रुत गतिमा फैलिएको जानकारी दिनुभएको छ । नवजात शिशुहरूको मृत्यु पछि अस्पताल परिसर तनाव ग्रस्त बनेको छ । 

अस्पतालमा आगलागी भएको घटनाका विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृत्यु भएका परिवारप्रति दुःख व्यक्त गर्दै गठन गरिएको छानबिन समितिलाई १२ घण्टाभित्र रिपोर्ट बुझाउन निर्देशन दिनुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.