सामान्य तरिकाको काम गराइले लक्षित राजस्व संकलन हुँदैन : अर्थमन्त्री पौडेल

मंसिर १, २०८१ |कान्तिपुर टीभी संवाददाता
सामान्य तरिकाको काम गराइले लक्षित राजस्व संकलन हुँदैन : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयको कार्यसम्पादन प्रति असन्तुष्टि जनाउनु भएको छ । कर्मचारीको कार्यसम्पादन सूचक गत वर्षभन्दा पनि कमजोर रहेको भन्दै अर्थमन्त्री पौडेलले असामान्य अवस्थामा सामान्य तरिकाको काम गराइले लक्षित राजस्व संकलन हुन नसक्ने बताउनुभएको हो ।

राष्ट्रिय कर दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा करका लक्ष्य पूरा गर्न इमानदारीपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

उपप्रधानमन्त्री समेत रहनुभएका पौडेलले कर फर्स्यौट, कर परिक्षणको अवस्था सन्तोषजनक नरहेको, बजार अनुगमन पनि अघिल्लो वर्षको भन्दा सन्तोषजनक हुन नसकेको बताउनुभयो । कर प्रशासनलाई आधुनिकीकरण गर्ने, लागत घटाउने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने र करको दायरा विस्तार गर्ने गरी काम गर्नुपर्ने पौडेलको भनाइ छ । कार्यक्रममा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई सम्मान गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । एकलौटी फर्ममध्ये सबैभन्दा बढी आयकर दाखिला गरेबापत श्रुति ट्रेडर्स, वस्तु निर्यात कारोबार गर्ने कम्पनीतर्फ डाबर नेपाल, सूचना प्रविधि सेवा निर्याततर्फ कोडावतार टेक, कृषि एवम् पशुपन्छी क्षेत्रतर्फ पतञ्जलि आयुर्वेद, बैंक वित्तीय संस्था र बिमाको कारोबार गर्ने कम्पनीतर्फ नबिल बैंक लिमिटेडलाई सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा सम्मान गरिएको छ ।

व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने करदाताका रूपमा राजबहादुर शाह सम्मानित हुनुभएको छ ।२०७५ साल साउनदेखि २०८१ असार मसान्तसम्म तोकिएको समयमा नियमित र सबैभन्दा बढी मूल्य अभिवृद्धि कर तिर्ने कम्पनीका रूपमा होङ्सी शिवम् सिमेन्टलाई सरकारले सम्मान गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.