भक्तपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस-एमालेले मात्रै मुलुकको लोकतन्त्रको रक्षा गर्न सक्ने बताउनुभएको छ । एमाले सूर्यविनायक नगर कमिटीको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै महासचिव पोखरेलले र्याप गीत गाएका र सामाजिक सञ्जालमा भाइरल भएकै आधारमा राजनीतिमा लागेकाहरुले लोकतन्त्रको रक्षा नगर्नेसमेत बताउनुभयो ।
उहाँले २०८४ को निर्वाचनमा दुई ठूला दलहरु एक्ला-एक्लै चुनावी प्रतिस्पर्धामा उत्रने पनि बताउनुभयो ।
देशमा संकटको समयमा आएपछि दुवै शक्ति एकै ठाउँमा उभिएको बताउँदै उहाँले ८४ को निर्वाचनमा जसले जित्छ उसैले ५ बर्ष सरकारले चलाउने दाबी गर्नुभयो ।
देशमा राजनीतिक त्याग गरेकाहरुले मात्रै लोकतन्त्रको रक्षा गर्न सक्ने बताउँदै उहाँले अब मुलुक विकास गर्न सक्ने क्षमता पुराना दलमा मात्रै रहेको बताउनुभयो । मुलुक विकास गर्नका लागि विदेशिका युवा शक्तिलाई नेपालमै रोजगारीको अवसर दिनुपर्ने उहाँको भनाइ छ ।