काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशमा फेरि एकपटक नयाँ आन्दोलनको सूत्रपात गर्न आवश्यक रहेको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नयाँ समाजवादी आन्दोलन, नयाँ उत्पादनको आन्दोलनको सूत्रपात जरुरी रहेको बताउनु भयो । अध्यक्ष दाहालले उत्पादनको आन्दोलनमा माओवादीले अग्रणी भूमिका खेल्नुपर्ने जरुरी रहेको बताउनु भयो ।
‘अहिले देशमा एकपटक फेरि हामीले एउटा नयाँ आन्दोलनको सूत्रपात गर्नुछ,' उहाँले भन्नुभयो, 'नयाँ समाजवादी आन्दोलनको । नयाँ उत्पादन आन्दोलनको सूत्रपात गर्नुछ । यो नयाँ समाजवादी आन्दोलन, उत्पादनको आन्दोलनमा हामीले अग्रणी भूमिका निर्वाह गर्नुपर्छ ।'
उहाँले संविधान सभाबाट संविधान बनाउँदा आफूहरुले भनेको जस्तो संविधान नबनेको बताउनु भयो । उहाँले अहिलेको सरकारको उद्देश्य सुशासनको नभई भ्रष्टाचारीको संरक्षण गर्ने रहेको आरोप लगाउनु भयो ।