चुनावमा गरेको वाचा पूरा गर्ने नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पको प्रतिबद्धता

कार्तिक २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
चुनावमा गरेको वाचा पूरा गर्ने नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पको प्रतिबद्धता

काठमाडौं । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पले चुनावी वाचा तत्काल पुरा गर्ने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले अवैध आप्रवासीलाई उनीहरुकै देशमा फिर्ता गर्ने र सीमालाई थप बलियो बनाउने विषय मुख्य प्राथमिकतामा रहेको पनि बताउनुभएको छ ।

एनबीसी न्यूजलाई दिनुभएको अन्तर्वातामा ट्रम्पले अमेरिकी मतदातालाई आफूले गरेको वाचा अनुसार आफ्नो कार्यकालको सबैभन्दा मुख्य विषय अवैध आप्रवासीलाई डिपोर्ट गर्ने रहेको स्पष्ट पार्नुभयो ।

साथै उहाँले जनवरीमा पदभार ग्रहण गरेपछि आफ्नो प्राथमिकताहरू मध्ये एक अमेरिकी सीमालाई बलियो र शक्तिशाली बनाउनु रहेको पनि जोड दिनुभएको छ । ट्रम्पको उक्त कदमले अमेरिकी इतिहासमा सबैभन्दा ठूलो निर्वासनको प्रयास हुने बताइएको छ । अवैध आप्रवासीलाई अमेरिकाबाट फिर्ता पठाउनुबाहेक आफूसँग अन्य कुनै विकल्प नरहेको उहाँले जीकिर गर्नुभयो । उहाँले अवैध आप्रवासीले हत्या हिंसा बढेको र लागूऔषध कारोवारीहरुले अमेरिकालाई नस्ष्ट गरिरहेको कारण उक्त कदम चाल्न आवश्यक रहेको प्रष्ट पार्नुभयो ।

मंगलबार भएको निर्वाचनमा डेमोक्रर्याटकी कमला ह्यारिसलाई हराउँदै ट्रम्प विजयी हुनुभएको हो । विजयी भएसँगै ट्रम्पले ह्वाइट हाउसका कर्मचारीको प्रमुखमा सुसी विल्सलाई नियुक्त गर्नुभएको छ । वाइल्स ट्रम्पको चुनावी अभियानका वरिष्ठ सल्लाहकार हुनुहुन्थ्यो।

ट्रम्पले जित हासिल गरेसँगै विश्वका नेताहरुले ट्रम्पलाई बधाई दिएका छन् । राष्ट्रपति भ्लादिमीर पुटिनले पनि उहाँले बधाई दिँदै रुस र अमेरिकाबीचको सहकार्य सहज रुपमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । पुटिनले युक्रने युद्धको विषयमा ट्रम्पसँग आफूले कुरा गर्न चाहेको समेत बताउनुभएको छ ।

यसैबीच चुनावको नतिजापछि राष्ट्रको नाम सम्बोधन गर्दै राष्ट्रपति जो बाइडेनले देशको रोजाईलाई स्वीकार गरेको बताउनुभएको छ । ह्वाइट हाउसको रोज गार्डेनबाट बोल्दै बाइडनले अमेरिकको लोकतान्त्रिक प्रणाली निष्पक्ष रहेको समेत स्पष्ट पार्नुभयो । यस पटकको चुनावमा हार बेहोर्नुभएको ह्यारिसको भने बाइडनले प्रशंसा गर्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement