काठमाडौं । इजरायल र प्यालेष्टिनी लडाकु समूहबीच गाजा युद्ध बिराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता आगामी आइतबारदेखि कार्यान्यवनमा आउने भनिएपनि गाजामा इजरायलको आक्रमण भने रोकिएको छैन ।
इजरायलको आक्रमणमा विगत २४ घण्टामा गाजामा कम्तिमा ८१ जनाको मृत्यु भएको छ भने १ सय ८८ जना घाइते भएका छन् । गत २४ घण्टामा इजरायलले गाजामा करिब ८ पटक आक्रमण गरेको हमासको दाबी छ । यद्यपि इजरायलले भने यो विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।
यसैबीच, इजरायलले हमासलाई गएराति भएको युद्धविराम सम्झौताबाट पछि हटेको आरोप लगाएको छ । यहि कारण देखाउँदै सम्झौताका सम्बन्धमा इजरायली मन्त्रिपरिषदमा हुने भनिएको मतदान पछि धकेलिएको बीबीसीले जनाएको छ । हमासले भने आफु युद्ध विराम सम्झौतामा अडिग रहेको दाबी गरेको छ।
युद्धविराम सम्झौतामा सहमति भएको खबरसँगै गाजाको नाकामा भने थुप्रै मानवीय सहायता बोकेका ट्रकहरु गाजा प्रवेशको पर्खाइमा रहेको बताइएको छ ।
हिजो मात्र कतार,अमेरिका र इजिप्टको मध्यस्थतामा दोहामा भएको वार्तामा गाजा युद्धविरामसम्बन्धी दुवै पक्षबीच सहमति भएको थियो ।
यो पनि हेर्नुहोसः
१५ महिनामा ४६ हजार मानिस मारिएको क्रुर युद्धको अन्त्य कसरी भयो ?