हमाससँग बन्धक रिहा सम्झौतामा सहमति भयो : इजरायली प्रधानमन्त्रीको कार्यालय

माघ ४, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
हमाससँग बन्धक रिहा सम्झौतामा सहमति भयो : इजरायली प्रधानमन्त्रीको कार्यालय

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले हमाससँग बन्धक रिहाइ सम्बन्धी सम्झौतामा सहमति भएको जनाएको छ । यसअघि नेतन्याहूले गाजा युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौतामा हमासले आफ्ना नयाँ शर्तहरू थप्न चाहेको भन्दै उक्त सम्झौता अनुमोदनका लागि बिहीबार बिहान बस्ने भनिएको बैठक सार्नुभएको थियो ।

हमासले सम्झौता अन्तर्गत रिहा हुने प्यालेस्टिनी बन्दीको सूचीमा आफ्नो समूहका केही सदस्यको नाम थप्न चाहेकाले यस्तो स्थिति उत्पन्न भएको बीबीसीले जनाएको थियो । शुक्रबार बिहान वार्ताकारहरूको टोलीले हमाससँग अन्तिम सहमति भएको जानकारी नेतन्याहूलाई दिएको उहाँको कार्यालयले जनाएको छ । 

नेतन्याहूले आजै मन्त्रिपरिषद्को राजनीतिक तथा सुरक्षा परिषद्को बैठक बोलाएको र सरकारले सो सम्झौता अनुमोदन प्रक्रियालाई अघि बढाउने बताइएको छ । इजरायल, हमास, अमेरिका र कतारका अधिकारीहरूले गाजा युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौतामा दोहामा औपचारिक हस्ताक्षर गरेको इजरायली समाचारमाध्यमले जनाएका छन् । 

मध्यस्थकर्ता राष्ट्रहरू कतार र अमेरिकाले गाजा युद्धविराम सम्झौतामा सहमति भएको कुराको पहिलो घोषणा यही बुधबार गरेका थिए । सो सम्झौता आइतबारदेखि कार्यान्वयनमा आउने बताइएको छ । यद्यपि त्यसअघि सो सम्झौतालाई इजरायली मन्त्रिपरिषद्ले अनुमोदन गर्नुपर्नेछ ।

इजरायलमा गठबन्धन सरकार रहेकाले पनि युद्धविराम सम्झौताका शर्तप्रति सत्ता साझेदार केही दलको फरक मत रहन सक्ने बताइएको छ । इजरायली राष्ट्रिय सुरक्षामन्त्री बेन गभिरले मन्त्रिपरिषद्ले उक्त सम्झौता अनुमोदन गरे आफ्नो अति दक्षिणपन्थी दल सत्ता गठबन्धनबाट बाहिरिने धम्की दिनुभएको छ । उता नवनिर्वाचित अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले आफूले सोमबार पदभार सम्हाल्नुअघि बन्धक रिहाइ सम्झौता कार्यान्वयनमा आउनुपर्ने चेतावनी दिनुभएको छ ।



Enter Kantipur TV HD
Advertisement