काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान जग्गा हिनामिना प्रकरणमा दोषी ठहर हुनुभएको छ । अल-कादिर ट्रस्टको जग्गा हिनामिना प्रकरणमा अदालतबाट दोषी ठहर भएका खानलाई १४ वर्षको जेल सजाय सुनाइएको हो ।
रावलपिन्डीको भ्रष्टाचार विरोधी अदालतले आज पूर्वप्रधानमन्त्री खानलाई १४ वर्षको जेल सजाय सुनाएको हो । यस्तै उहाँलाई १० लाख रुपैयाँ जरिवाना पनि गर्ने निर्णय अदालतले गरेको हो । यसैगरी उहाँकी पत्नी बुसरा बीबीलाई ७ वर्षको जेल सजाय सुनाइएको छ ।
बुसरालाई पाँच लाख रुपैयाँ जरिवानासमेत गर्ने निर्णय अदालतले गरेको हो । अदालतले अल-कादिर ट्रस्टको जग्गा नियन्त्रण लिन पनि सरकारलाई आदेश दिएको छ।
ट्रस्टको जग्गा हिनामिनाको आरोपमा खान गत मे ९ मा पक्राउ पर्नुभएको थियो । उहाँ अहिले आदिआला जेलमा हुनुहुन्छ । अदालतले सजाय सुनाउँदा इमरान खान, उहाँकी श्रीमती बुशरालाई अदालतमै उपस्थित गराइएको थियो । त्यसपछि उहाँहरुलाई पुन जेल पठाइएको छ । अदालतले निर्णय सुनाउँदा पीटीआई नेताहरूसमेत उपस्थित भएका थिए ।
अल-कादिर ट्रस्ट भ्रष्टाचार मुद्दा पाकिस्तानको इतिहासमा आर्थिक अनियमितताको सबैभन्दा ठूलो मुद्दा मध्ये एक हो ।