काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमाससँगको गाजा युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता अनुमोदनका लागि बिहीबार बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक पछाडि सार्नुभएको छ । प्रधानमन्त्री नेतन्याहूले अन्तिम समयमा आएर हमासले सम्झौतामा केही नयाँ कुरा थप्न चाहेकाले मन्त्रिपरिषद्मा हुने भनिएको मतदानको मिति पर सार्नुपरेको बताउनुभएको छ ।
इजरायली मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि मात्रै सम्झौताले वैधानिकता पाउने बताइएको छ । हमासले आफू सम्झौताप्रति प्रतिबद्ध रहेको जनाए पनि उसले सम्झौता अन्तर्गत रिहा हुने प्यालेस्टिनी बन्दीको सूचीमा आफ्नो समूहका केही सदस्यको नाम थप्न चाहेको बुझिएको बीबीसीले जनाएको छ । उता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भने सम्झौताका केही विस्तृत कुरा मिल्न बाँकी रहे पनि पूर्वयोजना अनुरूप आइतबारदेखि नै यो कार्यान्वयनमा आउने विश्वास व्यक्त गर्नुभएको छ ।
मन्त्रिपरिषद् बैठक बिहीबार बिहान बस्ने भनिएकामा त्यसको केही घण्टाअघि नेतन्याहूले हमासले अन्तिम समयमा आएर केही थप शर्तका लागि दबाब दिन खोजेको आरोप लगाउनुभएको थियो । नेतन्याहूको कार्यालयद्वारा जारी विज्ञप्तिमा हमासले सम्झौताका सबै कुरा स्वीकार नगर्दासम्म मन्त्रिपरिषद्को बैठक नबस्ने उल्लेख गरिएको छ ।
उता इजरायली समाचारमाध्यमले भने शनिबार रातिसम्मका लागि मन्त्रिपरिषद्को बैठक सारिएको जनाएका छन् । मन्त्रिपरिषद् सुरक्षा समितिको बैठक भने शुक्रबार बस्ने सम्भावना रहेको बीबीसीले उल्लेख गरेको छ । इजरायलमा गठबन्धन सरकार रहेकाले पनि युद्धविराम सम्झौताका शर्तप्रति सत्ता साझेदार केही दलको फरक मत रहन सक्ने बताइएको छ ।
यसैबीच इजरायली राष्ट्रिय सुरक्षामन्त्री बेन गभिरले मन्त्रिपरिषद्ले उक्त सम्झौता अनुमोदन गरेको अवस्थामा आफ्नो अति दक्षिणपन्थी दल सत्ता गठबन्धनबाट बाहिरिने धम्की दिनुभएको छ । उता नवनिर्वाचित अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले आफूले सोमबार पदभार सम्हाल्नुअघि बन्धक रिहाइ सम्झौता कार्यान्वयनमा आउनुपर्ने चेतावनी दिनुभएको छ ।
हमास र इजरायलबीच बुधबार गाजा युद्धविराम सम्झौतामा सहमति भएको घोषणा गरिएको थियो भने इजरायलले गाजामा जारी राखेको आक्रमणमा त्यसयता ८० जनाभन्दा बढी मारिइसकेका छन् ।