ह्वाइट हाउसबाट बाइडनको अन्तिम सम्बोधन : कुलीनतन्त्रले आकार लियो, लोकतन्त्रमाथि खतरा मडारियो

माघ ३, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
ह्वाइट हाउसबाट बाइडनको अन्तिम सम्बोधन : कुलीनतन्त्रले आकार लियो, लोकतन्त्रमाथि खतरा मडारियो

काठमाडौं । बहिर्गमन उन्मुख अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकामा सीमित र अति धनवान् व्यक्तिको डरलाग्दो शासन ‘कुलीनतन्त्र’ ले आकार लिँदै गरेको चेतावनी दिनुभएको छ । ह्वाइट हाउसको ओभल अफिसबाट बिदाइ सम्बोधन गर्दै बाइडनले अमेरिकामा चरम धनी, शक्तिशाली र प्रभावकारी व्यक्तिको शासनले स्वरूप लिँदै गरेको र यसले समग्र लोकतन्त्र, मौलिक हक र स्वतन्त्रतामाथि नै खतरा हुने बताउनुभएको हो ।

नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पको भावी प्रशासनलाई सफलताको शुभकामना दिँदै ८२ वर्षीय बाइडनले केही सीमित र अति धनाढ्य व्यक्तिको हातमा डरलाग्दो रूपमा शक्ति केन्द्रिकृत हुन सक्नेतर्फ सचेत समेत गराउनुभयो । बाइडनले आगामी सोमबार अर्थात यही जनवरी २० मा ट्रम्पलाई सत्ता हस्तान्तरण गर्दै हुनुहुन्छ ।

ट्रम्पको शासनकालमा सामाजिक सञ्जाल एक्स, टेस्ला र स्पेश एक्सका मालिक इलोन मस्कको प्रभावकारी भूमिका रहने स्पष्टप्रायः छ । नोभेम्बरमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई विशेषरूपमा सघाएका मस्कलाई ट्रम्पले संघीय सरकारको खर्च कटौती सम्बन्धी विशेष सल्लाहकार नियुक्त गर्दै हुनुहुन्छ । बाइडनको संकेत मस्क र ट्रम्प निकट अन्य धनाढ्य व्यवसायीको भावी शासनमा रहने प्रभावप्रति रहेको हुनसक्ने अनुमान गरिएको छ ।

आफ्ना सम्बोधनमा बाइडनले जलवायू परिवर्तन र सामाजिक सञ्जाल मार्फत सम्प्रेसित हुने भ्रामक र मिथ्या सूचनाले पार्न सक्ने प्रभावबारे पनि चेतावनी दिनुभएको छ । अमेरिकीहरू झुटा र भ्रामक सूचनाको हिमपहिरोमा पुरिइरहेको र यसले शक्तिको दुरुपयोगलाई बढावा दिइरहेको र साथै स्वतन्त्र प्रेस कमजोर बन्दै गएको बाइडनको टिप्पणी थियो । बाइडनले कृत्रिम बौद्धिकताले भविष्यमा सिर्जना गर्न सक्ने खतराको बारेमा सचेत गराउँदै, एआईको विकासमा चीनले नभएर अमेरिकाले नेतृत्व लिन सक्नुपर्ने धारणा राख्नुभएको थियो ।

बाइडनले आफनो चार वर्षे कार्यकालमा रोजगार सिर्जना, भौतिक पूर्वाधार निर्माण, कोभिड महामारीबाट देशलाई निकास दिने लगायतका स्वास्थ्य सेवा र अमेरिकालाई सुरक्षित देश बनाउने लगायतका क्षेत्रमा उल्लेख्य कार्य भएको बताउनुभएको थियो ।

राष्ट्रपतिका रूपमा बाइडनले ह्वाइट हाउसको ओभल अफिसबाट राष्ट्रका नाममा सम्बोधन गरेको यो पाँचौं तथा अन्तिम सम्बोधन हो ।



Enter Kantipur TV HD
Advertisement